Logo

प्रमुख समाचार

राष्ट्रवादी बन्नका लागि मधेशलाई गाली गर्ने केपी ओलीको राष्ट्रवादी सोच हो कि के हो ? : रामचन्द्र पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशलाई सांस्कृतिक पहिचान आवश्यक भएको उल्लेख गर्दै भूगोलको कुरा भने मधेश विरोधी हुने बताएका छन् । आज नेपाली कांग्रेस महोतरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले उक्त भनाई राखेका हुन् । नेता पौडेलले लोकतन्त्र बलियो भएमा मधेश जनता बलियो हुने र सांस्कृतिक पहिचान जोगिने तर्क गरे ।

‘लोकतन्त्र बलियो भएमात्र मधेशी जनता बलिया बन्छन् । जनता बलिया भएमात्रै मधेशका माग पूरा हुन्छ,’ पौडेलले भने, ‘चुरेको दोहनले मधेशको विकास हुदैन् । मधेशलाई सांस्कृतिक पहिचान चाहिएको छ । भौगोलिक रुपमा राजमार्ग भन्दा माथि एक इञ्च जमिन चाहिदैन भन्नेहरु मधेश विरोधी हुन् ।’

त्यसैगरी प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी सोचबारे समयले चाँडै बताउने दाबी गरे । भने, ‘राष्ट्रवादी बन्नका लागि मधेशलाई गाली गर्ने केपी ओलीको राष्ट्रवादी सोच हो कि के हो समयले बताउनेछ ।’

जनताको इच्छा अनुसार पार्टी नचलेकोले कांग्रेसले निर्वाचनमा हार व्यहोरेको पौडेलको भनाई थियो। त्यसैगरी उनले मधेशलाई गाली गर्ने मधेशका नेता अहिले ओलीसँगै टाँसेको आरोप लगाए ।

‘नेपाली कांग्रेसले संविधान संशोधन गर्न खोज्दा तत्कालिन एमालेले विरोध ग‍र्याे । हिजो केपी ओलीले हिजो मधेशका जनता र मधेशका नेतालाई के के भन्दै हिडेका थिए,’ पौडेलले भने, ‘आज तीनै मधेशका नेताहरु केपी ओली नेतृत्वको सरकारमा किन टाँसिएका छन् । संविधान संशोधनको कुरा कहाँ हरायो ? संविधान संसोधन छोडेर सत्तामा जानु भनेको सत्ताको भोगी हो कि होइन ?’

प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार  ८ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।