कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको जारी मत गणनामा प्रगतिशील समूहका अध्यक्ष कृष्णचन्द्र श्रेष्ठले अग्रता लिएका छन्।बुधबारको पछिल्लो परिणाम अनुसार प्रगतिशील समूहका श्रेष्ठले २४ सय ४५ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी सुनील पोखरेलले २३ सय ७५ मत ल्याएका छन्।
उपाध्यक्षहरुमा पनि प्रगतिशील समूहले अग्रता लिइरहे पनि महासचिवमा भने लोकतान्त्रिकका लीलामणि पौडेल अघि देखिएका छन्। पौडेलले २४ सय ५४ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी सुरेन्द्रबहादुर थापाले २३ सय १४ मत प्राप्त गरेका छन्।
१० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो। उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको थियो। सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो। काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो।
तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्यसमिति २५ सदस्यीय हुनेछ। अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो।




















प्रतिक्रिया