Logo

प्रमुख समाचार

विशेष महाधिवेशन भयो भने ‘नेपाली कांग्रेस फुट्न सक्छ : डा.शशांक कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले विशेष महाविधेशन भयो भने पार्टी दुई फ्याक हुनेभन्दै चिन्ता जनाएका छन् ।नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री डा.कोइरालाले विशेष महाधिवेशनको अवस्था आउन दिन नहुने बताए ।

‘कांग्रेसको हित सबैले चाहनुपर्छ । विशेष महाविधेशन आउने अवस्था सिर्जना गर्नु हुँदैन’, उनले भनेका छन्, ‘केही समस्या छ भने मिलाउनुपर्छ । सभापतिजी र हामी सबै मिलेर विवाद मिलाउनुपर्छ ।’ विशेष महाधिवेशन हुने अवस्था आयो भने कांग्रेस पार्टी विभाजन हुने उनको भनाइ थियो ।

केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरू तलैबाट आउने विषय नराम्रो नरहेको उनले बताए । ‘महासमिति बैठकमा धेरैले तलैबाट आउनुपर्छ भनेका हुन् । यो राम्रो सोँच हो । तलसम्म पहुँच हुन्छ’, महामन्त्री डा.कोइरालाले भने, ‘तलैबाट आउन सक्दैन भने नेता हुनै सक्दैन ।’

तपाई सभापति शेरबहादुर देउवाविरोध हो रे नि ? भन्ने प्रश्नको जवाफमा महामन्त्री डा.कोइरालाले भने, ‘म देउवाको विरोधी होइन । विरोध कहिले पनि गरेको छैन । मलाई पनि काम गर्न उहाँले कहिल्यै पनि हस्तक्षेप गर्नुभएको छैन ।’

अबको सभापति को हो भन्ने प्रश्नको जवाफमा डा.कोइरालाले भने, ‘सम्मानपूर्वक उहाँ (शेरबहादुर देउवा)ले छाड्नु पर्छ । तर, छाड्नु हुन्न उहाँले । नयाँ नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता छ ।’वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरूको गुटको भेलालाई उनले बचाउ गरे । ‘बैठक बस्नु त राम्रो हो । बैठकले के बिगारेको छ र ?’

महामन्त्री डा.कोइरालाले देशमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए । ‘मैले धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेको छु । हिन्दू धर्मको एजेण्डा मैले बोकेको होइन’, उनले भने, ‘केपी ओलीले होली वाइन खाँदा कसैले केही नभन्ने मैले धार्मिक स्वतन्त्रताको कुरा गर्दा किन ओलोचना हुन्छ ?

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।