प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेका नेपाली कांग्रेस आफ्नै आन्तरिक झगडाका कारण झनै किचलोमा फस्दै गएको छ । पटकपटक सत्ता र प्रतिपक्षमा रहँदाको अनुभव संगालेको कांग्रेसले आन्तरिक किचलोकै कारण सशक्त प्रतिपक्षको भूमिकामा आफूलाई उभ्याउन सकेको छैन ।
पछिल्लो समय कांग्रेसमा महासमिति बैठकको म्यान्डेडविपरीत केन्द्रीय समिति बैठकले विधानको विषयमा बहुमतले निर्णय लिएपछि कांग्रेसभित्रको किचलो झनै झाँगिएको हो । सो विषय अहिले आएर पार्टीको कार्यसम्पादन समिति गठनको विषयसम्म आइपुग्दा झनै झाँगिन पुगेको छ । यस्तै, नेपाल विद्यार्थी संघको नेतृत्वले राजीनामा दिएपछि कांग्रेसले गुट किचलोकै कारण एक महिना बित्दासमेत नेविसंघलाई नेतृत्वविहीन बनाएको छ ।
नेता अर्जुननरसिंह केसीले पार्टीमा बढ्दो किचलोलाई निश्चित दिशा दिन जरुरी रहेको बताए । उनले निष्पक्ष, पारदर्शी, तथा विधानसंगत रूपमा पार्टीलाई बढ्दो किचलोबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
‘पार्टीमा दिन प्रतिदिन किचलो बढ्दै छ, हरेक विषयलाई सहमतिका साथ टुंग्याउनुपर्छ, त्यसका लागि निष्पक्षता, पारदर्शिता र विधिसंगत रूपमा पार्टीलाई सञ्चालन गर्नुपर्छ, अनि मात्र कम्युनिस्टसँग पनि लड्न सकिन्छ’, नेता केसीले राजधानीसँग भने ।
यस्तै, महासमिति बैठकको एजेन्डालाई लिएर जिल्ला सभापतिसमेत गुटगत आधारमा नै विभाजित हुन थालेका छन् । सोही आधारमा केही दिनअघि राजधानीमा संस्थापनइतरका जिल्ला सभापतिले महासमिति बैठकको म्यान्डेड र आफूहरूसँगको सहमतिविपरीत विधानमाथि बहुमतले निर्णय गरेको भन्दै विशेष महाधिवेशनसम्मको धम्की पार्टी नेतृत्वलाई दिइसकेका छन् ।
यसैगरी, पार्टीमा कार्यसम्पादन समितिको विषयले समेत कार्यकर्ता तहमा निराशा बढाएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समितिमा रहने नेताहरूको भागबन्डाको विषयमा कुरा नमिल्दा पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित हुन पुगेको छ ।
सभापति देउवाले गत शुक्रबार आफ्नो बूढानीलकण्ठस्थित निवासमा बोलाएको शीर्ष नेताहरूको बैठकमा सो समितिको विषयलाई लिएर देउवा र वरिष्ठ नेता पौडेलबीच ६०÷४० प्रतिशतको अडानका कारण केन्द्रीय समिति बैठक नै स्थगित भएको थियो ।
सो बैठकमा १३आंै महाधिवेशनपछि कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गराएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई व्यवस्थापन गर्ने विषयमा वरिष्ठ नेता पौडेलले आफ्नो भागमा नपार्न सभापतिलाई भनेपछि बैठक अन्योलमा परेको हो ।
सो बैठकमा पौडेलले सिटौलालाई आफ्नो भागमा नसमेट्ने बताएपछि सिटौला बैठकबाटै बाहिरिएका थिए । यस्तै, देउवाले सोमबार बोलाएको बैठकमा समेत सिटौला सहभागी भएनन् । उनले पार्टीलाई भागबन्डाबाट चलाउँदा झनै कमजोर हुने भन्दै भागबन्डाबाट पार्टी नचल्ने बताउँदै आएका छन् । यही विवादका कारण केन्द्रीय समिति कहिले बस्ने टुंगो लागेको छैन । तर, सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले भने कार्यसम्पादन समितिको विवाद मिलेको बताए ।
‘कार्यसम्पादन समितिको विवाद मिलिसकेको छ, केही दिनमा नै केन्द्रीय समिति बैठक बसेर समिति गठन हुन्छ’, श्रेष्ठले भने ।
विधानमाथि थरीथरी बहस
केन्द्रीय नेता वडा तहबाटै निर्वाचित हुनुपर्ने जिल्ला सभापतिको अडान
कार्यसम्पादन समिति गठन अन्योल
नेविसंघ नेतृत्वविहीन
अन्य भ्रातृसंगठनसमेत विघटनको संघारमा
पेलेर पार्टी चल्दैनः सिटौला
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई सही ठाउँमा राख्न नसक्ने नेतृत्वले दुई तिहाइको सत्तासँग लड्न नसक्ने दाबी गरेका छन् । उनले पार्टीको अन्तरिक समस्या केही नेतालाई पेलेर समाधान गर्छु भन्ने पार्टी नेतृत्वको सोच रहेको भन्दै त्यसरी पार्टी नचल्ने बताएका हुन् ।
मंगलबार कांग्रेस क्षेत्र नम्बर ६ काठमाडौंले राजधानीमा आयोजना गरेको जनआन्दोलन दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पार्टी नेतृत्वको मनपरी तन्त्रका कारण पार्टीको स्ट्रेन्थ पोखिने अवस्थामा पुगेको बताए ।
‘पार्टी नेतृत्वले सत्ताको मनोमानीसँग लड्नुपर्ने अवस्था छ तर नेतृत्वले आफ्नै पार्टीलाई सही ठाउँमा राख्न सकेन भने कम्युनिस्ट सत्तासँग कसरी लड्न सक्ला रु,’ सिटौलाले भने, ‘आफ्नालाई पेलेर बलियो हुन्छु भन्ने भ्रमबाट मुक्त हुन म पार्टी नेतृत्वलाई आग्रह गर्छु, पेलेर पार्टी चल्दैन, पार्टीको स्ट्रेन्थ पोखियो भने उठाउन सकिँदैन ।’
उनले महासमिति बैठकभन्दा केन्द्रीय समिति बैठक ठूलो हुने अवस्था पार्टीभित्र देखापरेको समेत बताए । महासमिति बैठकको समापनमा महासमिति सदस्य र जिल्ला सभापतिसँग गरिएको सहमतिविपरीत केन्द्रीय समिति बैठकबाट विधानका विषयमा बहुमतका आधारमा निर्णय लिइनु समेत गलत भएको उनको तर्क छ । उनले भारी बोक्नेले खुट्टा दह्रो बनाउनसमेत सिक्नुपर्ने भन्दै पार्टी नेतृत्वलाई सुझावसमेत दिए ।




















प्रतिक्रिया