सत्तारुढ दल नेकपाको एकीकरणमा लामो समय (झण्डै एक वर्ष) देखि रहँदै आएको विवाद जिल्लाको पुरानो नेतृत्वलाई नै निरन्तरता दिने सहमतिपछि हाललाई टुङ्गो लागेको छ ।
गत बैशाख ८ गते अध्यक्ष र सचिवमा भागवण्डा गरी पार्टी एकीकरण गरिएको हो । भागवण्डामा साविक एमालेलाई ४४ जिल्ला र पूर्व माओवादी केन्द्रलाई ३३ जिल्लाको नेतृत्व दिइएको छ । पूर्वएमालेले अध्यक्ष लिएको स्थानमा साविक माओवादीले सचिव र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्वएमालेले सचिव पाउने व्यवस्था गरी भागवण्डा मिलाइएको नेकपा स्रोतले बताएको छ ।
जिल्लाका पूर्वपार्टी प्रमुखहरू नै अध्यक्ष वा सचिव हुने मापदण्ड तय भएपछि एकीकरणमा असन्तुष्ट बन्न पुगेका नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आएको जानकारहरूले बताएका छन् ।
कूल ७७ जिल्लाको नेतृत्वमध्ये नेपाल पक्षले १५ अध्यक्ष र २२ सचिव गरी कूल ३७ जिल्लाको जिम्मेवारी पाउँदा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको भागमा २५ जना अध्यक्ष र आठ जना सचिव गरी कूल ३३ जनाले जिम्मेवारी पाएका छन् ।
यसबाहेक चार अध्यक्ष र तीन जना सचिव ओली र नेपालको पक्षमा नलागेकालाई बनाइएको छ । तटस्थ रहेकालाई गणना नगर्दा पार्टी एकीकरणमा अध्यक्ष ओलीभन्दा वरिष्ठ नेता नेपाल शक्तिशाली अर्थात् बहुमतमा रहेको नेकपा सूत्रले जानकारी दिएको छ ।
नेकपाको एकीकरणमा पूर्व माओवादी केन्द्रले ३३ अध्यक्ष सहित ४४ जना सचिवको जिम्मेवारी पाएको छ ।नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले वरिष्ठ नेता नेपाल पक्षलाई ‘बाइवास’ गरेर अघि बढ्ने रणनीति सफल नभएपछि सहमति हुँदा नेपाल अंकगणितीय हिसाबले माथि परेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
पार्टी एकीकरण भएपछि नेपाल समूह नेकपा भित्र शक्तिशाली बन्न पुगेपछि आगामी महाधिवेशनको अध्यक्षका रूपमा हेरिएको छ ।समाचार स्रोतका अनुसार ओली नेपाल पक्षधर एक भए एक वर्षभित्रमा गर्ने भनिएको महाधिवेशनमा अध्यक्ष बन्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै पापड बेल्नुपर्ने नेकपाका जानकारहरूले बताएका छन् ।

नेकपामा वरियता विवाद
प्रज्ञा भवन कमलादीमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ७० औं स्थापना दिवस कार्यक्रममा नेताहरुको वरियता विवादले समाचार बन्ने अवसर पाएको छ ।
पार्टी एकतासँगै निष्क्रिय बनाइएका पूर्वएमाले र पूर्वमाओवादीहरुको जिल्ला कमिटी एकीकरण सम्पन्न त भयो तर कार्यक्रम सम्पन्न नहुँदै शीर्ष नेताहरुमै खट्पटको अवस्था आएको छ । सो अवसरमा जिल्लाका अध्यक्ष र सचिवको सूची पाएपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले माधवकुमार नेपालतिर फर्केर हास्तै गिज्याइरहेको समारोहमै देखिन्थ्यो पनि । कार्यक्रम नसकिँदै नेता नेपाल मञ्चबाट बिना जानकारी बाहिरिए र साँखु पुगेका थिए ।
पार्टीमा दोस्रो वरियतामा रहेका नेता नेपालको सिटमा नेता झलनाथ खनाल गएर बसेपछि नेता नेपाल ढिलागरी कार्यक्रम हलमा प्रवेश गरेका थिए भने प्रवेश लगत्तै निस्किएका थिए ।
यो खनाल र नेपालबीचको वरियतामा देखिएको विवादले गर्दा भएको हो भनी त्यहाँ चर्चा चलेको थियो । खनालसँगैको स्थानमा नारायणकाजी श्रेष्ठ बसेका थिए । नेता नेपालले श्रेष्ठलाई सर्न भने पनि श्रेष्ठले खनालतर्फको स्थानमै इशासा गरेपछि नेता नेपाल खनालसँंग झनै रिसाएका थिए ।
सोही बेला जिल्ला कमिटीको नेतृत्वको नामको सूची देखे लगत्तै नेता नेपाल बाहिरिए भन्दै कार्यकर्ताबीच नेता नेपालले कार्यक्रम बहिष्कार गरेको चर्चा शुरु भएको थियो । ओलीको भाषण जारी रहँदा समेत नेता नेपाल कुर्चीमा नफर्किएपछि पुष्पकमल दाहालले महासचिव विष्णु पौडेललाई डाकेर नेता नेपालको विषयमा खोजी गरेका थिए ।
त्यहाँ उपस्थित सचिवालय सदस्यहरूले समेत एकताको जिल्ला सचिव र अध्यक्षको सूची पढ्न पाएका थिएनन् भने सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्रीसँग सूची देखाउँदै जिज्ञासा राखेको दृश्यलाई उपस्थितहरुले रोचक रुपमा लिएका थिए ।
वरियताकै कुरा गर्दा पूर्वप्रधानमन्त्री खनालले नेता नेपालभन्दा तल पारिएको वरियतालाई अस्वीकार गर्दै आएका छन् । तत्कालिन एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेता नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र भएको आरोपसमेत खनालले लगाएका थिए । पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको भनी त्यो बेला नै त्यो कार्यलाई षडयन्त्रको रुपमा लिएका थिए ।
खनालले पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएकोलाई षडयन्त्रको आधारका रुपमा लिंदै आएका छन् । गत जेठ पार्टी एकता घोषणा हुँदा खनाल चीनमा थिए । स्वास्थ्य उपचारको सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको भनी खनालले उक्त आरोपको खण्डन समेत गरेका थिए ।
उनले आफूमात्र नभई ईश्वर पोखरेल र भीमबहादुर रावललगायतका नेतामाथि पनि अन्याय गरिएको आरोप लगाएका थिए । खनालले ओली र नेता नेपालको मिलेमतोमा आफूखुसी तोकिएको वरियता स्वीकार नगर्ने प्रष्ट पारेका थिए ।
पार्टीमा दोस्रो वरियतामा राखिएका नेता नेपाललाई नमानी नेपालको सिटमा गएर खनाल बसेको चर्चा चलेको छ । खनालले पार्टी एकताको विशेष श्रेय दाहाललाई दिँदै ओलीलाई चिढ्याउने कार्य पनि सोही कार्यक्रममा गरेका थिए ।उनको उक्त धारणाले अबका दिनमा खनालको साथ दाहाललाई हुन सक्ने संकेत गरेको भनी कार्यक्रमस्थलमा चर्चा चलेको थियो । नयाँ विमर्शका साथमा ।




















प्रतिक्रिया