Logo

प्रमुख समाचार

अचानक स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्कदै राष्ट्रपति भण्डारी



अचानक स्वास्थ्यमा समस्या देखिएछि निर्धारित कार्यतालिका अगावै राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्कने भएकी छिन् ।राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी भोलि स्वदेश फर्किने भएकी छन् ।

स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्य तालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

चीनको ९ दिवसीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङको यात्रा पूरा गरी मंगलबार बिहान तिब्बतको भ्रमणमा निस्किएकी छन्। बेइजिङमा रहँदा आफ्ना समकक्षी सी चिनफिङसँगका द्विपक्षीय तथा अन्य भेटवार्ताहरूमा राष्ट्रपति भण्डारीले नेपालको भूमि चीनविरूद्ध प्रयोग हुन नदिने अडान राख्दा चिनियाँ राष्ट्रपति सीले पनि तिब्बत मामिलामा नेपालले गरेको दह्रो समर्थनको प्रशंसा गरेका थिए।

तिब्बत मामिलामा राष्ट्रपतिद्वयले एकअर्काबीच यस्तो प्रतिबद्धता आदानप्रदान गरेको भोलिपल्ट भण्डारी तिब्बततर्फ लागेकी हुन्। राष्ट्रपति भण्डारी सहितको प्रतिनिधि मण्डललाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वायत्त प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष च्याङ् च्येले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी सहितको भ्रमण दल चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वायत्त प्रदेशका सचिव वु यिङ् च्येले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुका साथै तिब्बती टोलीसँगको भेटवार्तामा सरिक भयो। बैठकमा तिब्बत सरकार प्रमुख छि चाला, तिब्बती सीमा तथा अन्य सुरक्षा निकायका अधिकारीहरूका साथै चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्टाण्डिङ कमिटीका पदाधिकारीहरू गरी १५ जना जति बैठकमा सहभागी भएका थिए।

भेटवार्तामा तिब्बती पक्षले बेइजिङमा चिनियाँ राष्ट्रपति सी र नेपाली राष्ट्रपति भण्डारीबीच भएका सम्झौताहरू अक्षरसःपालना गर्ने प्रतिबद्धता जनाएको छ। तिब्बती अधिकारीहरूले भने, ‘माथि बेइजिङमा जे जे कुरा गर्नु भनेर निर्देशन आउँछ, हामी तिनै कुरा लागू गर्न सक्रिय छौँ।’

नेपाली प्रतिनिधि मण्डलको टोलीमा सहभागी राष्ट्रपति कार्यालयका सामाजिक, राजनीतिक तथा मानवअधिकार विज्ञ सुशीलराज प्याकुरेलले दिएको जानकारी अनुसार तिब्बती टोलीले चीनको केन्द्रसम्म पुग्न तिब्बत टेक्नैपर्ने भएकाले नेपाल र तिब्बतबीचका नाकाहरू खोल्नुपर्ने विषयमा समर्थन जनाए। चीनको केन्द्र सरकारले दिएको निर्देशन अनुसार सक्दो छिटो नाका खोल्ने कामहरू प्रारम्भ गर्ने कुरा तिब्बती पक्षले वचनबद्धता जनाएको पनि प्याकुरेलले जानकारी दिए।

त्यसअघि राष्ट्रपति भण्डारीले ल्हासास्थित महावाणिज्य दूतावासको निर्माणाधीन कार्यालय भवनको निरीक्षण गरिन्। हाल निर्माणाधीन नै रहेकाले कन्सुलेटको अस्थायी कार्यालय तिब्बत होटलमा सारिएको छ। कार्यालयको निर्माण कार्य लगभग तीन महिनामा पूरा हुने भ्रमण दलमा सहभागी युवा नेता योगेश भट्टराईले जानकारी दिए। गत वर्षको सेप्टेम्बरमा नयाँ कल्सुलेट जनरलको भवन निर्माण तथा चाङ्मु-तातोपानी मैत्री पुल र केरूङ-रसुवा पुलको निर्माण शिलान्यास गरिएको थियो।

नेपाली महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले बेइजिङमा राष्ट्रपति भण्डारीको चीन भ्रमणका दौरान भएका सम्झौताहरू कार्यान्वयनका लागि बल थप्न तिब्बत भ्रमण फलदायी भएको प्रतिक्रिया दिए।

बेइजिङमा हस्ताक्षर भएको पारवहन प्रोटोकल बमोजिम नेपालले प्रयोग गर्न पाउने नाकाहरू तिब्बतमै पर्दछन् भने नेपालको हिमाली क्षेत्रको जनजीविका सुधारका लागि सहयोगात्मक साझेदारीका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको क्षेत्र पनि तिब्बतसँगै जोडिएका छन्। यी लगायत विभिन्न ७ वटा सम्झौतामा सहयोग गर्न चीनले नेपाललाई १ अर्ब रनमिनपी (आरएमबी) दिने घोषणा गरेको थियो।

यसैगरी तिब्बतको सीमा व्यापार महासंघले आयोजना गरेको बैठकमा राष्ट्रपतिसँगै रहेको नेपालको व्यापारिक टोलीले भाग लिएको छ। नेपाली टोलीको प्रतिनिधित्व नेपाल-चाइना चेम्बर अफ कमर्स तथा इण्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ०१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।