बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’को प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ ।
सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’– महाशाखाद्धारा विहिवार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।
हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ । मुलुकको पश्चिमी क्षेक्रमा शुत्रबार पश्चिमी वायुको प्रभाव हुने भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत देखिन्छ । महाशाखाले आइतबारदेखि देशभर मौसममा क्रमिक रूपमा सुधार आउने उल्लेख गरेको छ ।
कसरी राखिन्छ चक्रवातको नाम ?
सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधीरचक्रवातको नामकरण गर्न थालेका हुन् । फानीको नामचाहिँ बंगलादेशले प्रस्ताव गरेको हो ।
‘द इन्डिया मेटेरोलोजिकल डिपार्टमेन्ट’ ले आठ देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले आठरआठ वटा नाम प्रस्तुत गरेका थिए ।
जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राख्ने गरिएको छ । नाम पनि तिनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ ।
‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम पाकिस्तानले राखेको थियो । उसले हुदहुदपछि आएको आँधीको नाम ‘निलोफर’ राखेको थियो । त्यसपछि श्रीलंकाले ‘आशोबा’ र थाइल्यान्डले ‘कोमेन’ आँधी नामकरण गरेका थिए ।




















प्रतिक्रिया