Logo

प्रमुख समाचार

यीनै हुन् गौतमबुद्ध रंगशालामा डोजर लगाउने ‘नाइके’, गर्यो पार्टीले निलम्बित



भरतपुर महानगरपालिकाले क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु-याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको एकिन गरी विगोबमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गरेकी छन् ।साथै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

नेकपाको विरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरको छ । जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार विज्ञप्ति जारी गर्दै तारवार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताएका छन् ।

विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ ।

नेपाली काँग्रेस चितवनको ध्यानाकर्षण

यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही अराजक र उदण्ड समूहले भत्काई निर्माण कार्यमा अवरोध गरेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले विहीबार विज्ञप्ति जारी गर्दै रंगशालाको बार भत्काउनेलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

यस्तै चितवनका अन्य पार्टीहरुले पनि घटनाको भत्र्सना गरेका छन् । सामाजिक सञ्जालमा पनि देश विदेशबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उक्त घटनाको तीव्र विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गेरका छन् ।

यो पनि पढ्नुहोस् 

धुर्मुसको प्रतिक्रिया हेरेर काे-काे भावुक भए ?

प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राखे ।

चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो रु उनले प्रश्न गरे ।

तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदर गरिनुपर्ने बताए ।

याे पनि पढ्नुहाेस्

धुर्मुसको पीडा : गरिबका रगत पसिनामाथि डोजर चलाइयो, डोजर चलाउने रेणु दाहालको मान्छे

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीयले डोजर चलाएर भत्काइदिएका थिए ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

पहिले अबिर जात्रा गरे, अहिले डोजर लगाए

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए । “निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।

को हुन् प्रकाश कँडेल ?

स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ ।

‘रेणु दाहाललाई मतपत्र च्यातेर मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।

धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।

धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए ।

तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् ।

धुर्मुसका अनुसार एउटा झुण्ड शुरूदेखि नै रंगशालाको विपक्षमा छ । उक्त झुण्डले कहिले ठेकेदार परिचालन गरेर निर्माण सामग्री आफूसँग लिन दबाब दिन्छ भने कहिले डोजर, जेसीबीलगायत निर्माणयन्त्र आफूले भनेकै व्यक्तिको लिनुपर्छ नत्र रंगशाला बन्नै दिन्न भन्दै धम्क्याउँछ ।

“हामीले उनीहरूसँग निर्माण सामग्री लिन नखोजेका पनि होइनौँ । तर, भनेको बेलामा उपलब्ध नगराउने । अत्तो थापिरहने गर्न थाले । उनीहरूको योजना रंगशाला बन्नै नदिने देखियो,” धुर्मुसको भनाइ छ । धुर्मुसका अनुसार स्थानीय केहीले फाउन्डेशनका कर्मचारीलाई पटकपटक धम्क्याउँदै आएका छन् । बुधबार बिहान पनि उनीहरूले कर्मचारीलाई तथानाम भन्दै धम्क्याएको भिडियो स्थानीयलेनै खिचेका थिए ।

तर, भिडियो डिलिट नगरे जे पनि हुन सक्ने भन्दै धम्क्याएपछि रंगशाला बन्नुपर्ने पक्षमा रहेका स्थानीयबासीले निरिह भएर मोबाइलबाट श्रव्यदृष्य हटाएको धुर्मुस बताउँछन् ।

घरबेटी नै परिचालन

रोचक कुरा त रंगशालाको बार–वाल भत्काउन फाउन्डेशनले कार्यालय राखेको घरका धनी सुरेन्द्र विश्वकर्मा नै प्रयोग भएका छन् । “सहयोग पुग्छ भनेर हामीले उहाँको घरमै कार्यालय राखेका थियौँ । उहाँको घर एक तलाको थियो । अर्को तला थपेर साइट अफिस बनाएका थियौँ । तर, बाटो बन्दा आफ्नो जग्गा पनि जान्छ भनेर उफ्रँदै रंगशाला भत्काउन आए,” धुर्मुस आश्चर्य व्यक्त गर्छन् ।

रंगशाला होइन, ज्यानकै सुरक्षा भएन

डीपीआर बनेपछि मात्रै कम्पाउण्ड घेर्ने पक्षमा धुर्मुस थिए । तर, खुला ठाउँ हुनाले निर्माण सामग्री हराउने भय बढ्यो । दुर्व्यसनीहरू दिनदहाडै निर्माणधीन ठाउँमा आउन थालेपछि बाध्य भएर जस्तापाताले छेक्नुपरेको धुर्मुस बताउँछन् । “अनेक धाकधम्की सहँदै चारवटा एकीकृत बस्ती बनाएका थियौँ । बुधबारको घटनाले निकै विक्षिप्त बनाएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले अगुवाइ लिए पनि त्यो चितवनकै गौरवको कुरा थियो । तर, स्थानीयको चाहना रंगशाला बन्न दिने देखिएन,” धुर्मुस बताउँछन् ।

डोजर नै लिएर भत्काउन आइसकेपछि बिनासुरक्षा रंगशाला बनाउन नसकिने धुर्मुसको ठहर छ ।“मेरै ज्यान तलमाथि परे त केही थिएन । तर, फाउन्डेशनका कर्मचारीको ज्यान तलमाथि भए के हुन्छ रु यस्तो अवस्थामा मैले बोल्ड डिसिजन लिनुपर्ने हुन्छ,” धुर्मुसले पीडा पोखे ।

सरकार कहाँ छ ?

नेपाली जनताको इच्छा, क्रिकेट खेलाडी, खेलप्रेमीको चाहनाअनुसार सरोकारवालाको आग्रहअनुसार नै आफू चितवन आएको र विश्वविद्यालयले उपलब्ध गराएको जग्गामा गौरवको आयोजना बनाउन लागेको धुर्मुस बताउँछन् । भरतपुर महानगरपालिकाले विशेष आग्रह गरेर नै धुर्मुसलाई बोलाएको थियो । तर, बनाउन थालेको पहिलो दिनबाटै स्थानीयले पाखुरा सुर्किएपछि रंगशालाको परियोजना सक्न कठिन हुने धुर्मुसको तर्क छ ।

“डीपीआर नै बनेको छैन । आजबाटै स्थानीयको धाकधम्की सहनुपरेपछि काम गर्ने जाँगर कहाँबाट आउँछ रु,” उनको प्रश्न छ । उनले रंगशाला बन्ने क्रममा स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति गराएको थियो । महानगरपालिकाले पनि आश्वस्त पारेको थियो । तर, दिनदहाडै हुलहुज्जत गर्दा, कर्मचारीमाथि हातपातको प्रयास गर्दा पनि प्रशासनबाट यथेष्ट सहयोग नपाएको उनले बताए ।

गरिबका रगतपसिनामाथि डोजर नचलोस् !

झण्डै तीन अर्ब लागत अनुमान गरेको क्रिकेट रंगशाला बनाउन आवश्यक रकमको जुगाड भइसकेको छैन । कहिले मलेसिया, कहिले कतार गएर ‘शीत उभाउनु’ परेको धुर्मुस बताउँछन् । जन्मदिन मनाउन छुट्टयाएको रकम र स्कुले बालबालिकाले टिफिन खर्च जोगाएर रंगशालालाई सहयोग गरिरहेका छन् ।

“खाडीमा काम गरिरहेका मजदुरहरूले गास काटेर पठाएको पैसामाथि डोजर चल्दा मेरो मन थामिएको छैन, मैले गम्भीर निर्णय लिनुपर्ने भएको छ,” धुर्मुस भन्छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।