Logo

प्रमुख समाचार

सिंहदरबारबाट मात्र समग्र विकास हुँदैन : कांग्रेस सभापति देउवा



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारबाट मात्रै मुलुकको समग्र विकास हुन नसक्ने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा गरेको ‘सघीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा देउवाले संघीयतामा प्रवेश गरिसकेको मुलुकमा सिंहदरबारबाट मात्रै समग्र विकास नहुने दाबी गरेका हुन् ।

‘मुलुक संघियतामा प्रवेश गरिसक्यो, सिंहदरबारबाट मात्रै अब मुलुकको समग्र विकास हुँदैन, यसरी देशलाई न्याय हुँदैन, प्रदेशका जनताको भावनाअनुसार काम गर्नुपर्छ,’ कांग्रेस सभापति देउवाले भने । उनले संघीयता नेपालका लागि नौलो प्रयोग भएकाले संघीयताको सफलताका लागि समेत जनताको भावनाअनुसार नै काम हुनुपर्ने र सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारले ल्याएको बजेटमा समेत संघीयतालाई बेवास्ता गरिएको आरोप लगाए । ‘सरकारले पेस गरेको बजेटले संघीयतालाई बेवास्ता गरेको देखिन्छ, यो सरकार संघीयताको पक्षमा नै छैन,’ देउवाले थपे ।

सरकारले स्थानीयस्तरमा गएको अधिकार अझै केन्द्रीकरण गर्न खोजिरहेको र प्रदेशले संविधानअनुसारको अधिकार पाउनुपर्नेमा नपाएको समेत देउवाले बताएका हुन् । कार्यक्रममा प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारबाट संघीयताको सफल कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।

‘कम्युनिस्ट प्रणाली र संघीय प्रणाली विरोधी कुरा हुन, कम्युनिस्टहरू जनवादी केन्द्रीयतामा विश्वास गर्छन्, संघीयता कम्युनिस्ट मोडल होइन, लोकतान्त्रिक मोडल हो, वर्तमान सरकारबाट संघीयताको सफल कार्यान्वयन सम्भव छैन,’ निधिले भने ।

महामन्त्री पूर्णबहादुर खड्काले संघीयताअनुसारको पार्टीको संगठन संरचना बनाउन ढिलाइ भएको भन्दै संघीय संरचनाअनुसारको पार्टीको विधान बनाउने पहिलो पार्टी कांग्रेस नै भएको बताए । कांग्रेसले पार्टीको विधान, विधानले तय गरेको संरचना र सरकारका गतिविधिसहितका विषयलाई लिएर जनजागरण कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको छ । प्रतिष्ठानले समेत सातै प्रदेशका मुख्य सहरमा प्रशिक्षणको तयारीसमेत गरेको राजधानी दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस् ।

कांग्रेस निष्कर्ष, ऋणको भार थोपर्ने बजेट, त्रुटि सुधार्न संसद्बाटै दबाब दिइने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७६(७७ को बजेट जनचाहनाविपरीत र जनतालाई ऋणको भारी थोपर्ने गरी आएको बताएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट जनचाहनाविपरीत र जनतालाई थप ऋणको भारी बोकाउने किसिमबाट आएको निष्कर्ष निकालेको हो ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकमा रोजगारीको अवसर बढाउने, विकास निर्माणको कामलाई तीव्रता दिने र उत्पादन वृद्धि गर्नेभन्दा पनि जनतालाई थप ऋणको भार थोपर्ने गरी बजेट आएको बताए । प्रस्तुत बजेट जनचाहनाविपरीत छ,’ प्रमुख सचेतक खाँणले बैठकपछि पत्रकारहरूसँग भने ।

कांग्रेसले सरकारले ल्याएको बजेटलाई वितरणमुखीको संज्ञासमेत दिएको छ । बैठकमा बोल्ने अधिकांश सांसदहरूले बजेटलाई वितरणमुखी र प्रस्ट योजना र खाकाबिनाको भनेका हुन् । उनीहरूले सरकारले ल्याएको बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्नेसमेत दाबी गरेका छन् ।

बजेटका विषयमा कांग्रेस निकट अर्थविद्हरूले समेत दलको बैठकमा आआफ्नो धारणा राखेका थिए । अर्थविद् राजु नेपाल, स्वर्णिम वाग्ले र डा। गोविन्द पोखरेलले सरकारले ल्याएको बजेट विकास विरोधी भएको, हचुवामा आएको र जनतालाई थप ऋण बोकाउने गरी आएको भनेका हुन् । सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेटलाई अर्थविद् नेपालले जनतालाई थप १६ हजार ४६६ रुपैयाँ ऋण बोकाएको बताए ।

उनीहरूले सरकारले सांसदहरूलाई पैसा बाँड्दा प्रदेश सांसदहरूले समेत पैसा माग्ने भन्दै पैसा बाड्ने संस्कार गलत भएको बताए । यसैगरी, प्रधानमन्त्री रोजगारमा छुट्याइएको रकम खर्च नभएको अवस्थामा नै पुनः सोही शीर्षकमा धेरै रकम छुट्याइनु गलत भएको, बूढीगण्डकी जलविद्युत् आयोजनलाई बजेट नछुट्याइएको भन्दै बजेटका विषयमा आलोचना गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षबाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसदलाई ६ करोडका दरले रकम दिने बजेटमार्फत घोषणा गरेको थियो ।

कांग्रेस संसदीय दलको बैठकले बजेटमा भएका त्रुटिहरूका विषयमा संसद्को थलोबाट नै आलोचना गर्नेसमेत निष्कर्ष निकालेको छ । प्रमुख सचेतक खाँडले कांग्रेसले बजेटमा भएका कमीकमजोरीबारे संसद्को थलोबाट व्यापक आलोचना गर्ने र त्यसलाई सुधार्न दबाब दिइने बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ०३:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।