Logo

प्रमुख समाचार

प्रचण्डलाई ईश्वर पोखरेलको चुनौती



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् ।

अबको एकवर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशन केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमा आफ्नो अवस्था वैचारिक -राजनीतिक रुपमा सुदृढ बनाउन लागिपरेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष दाहालको धारणासँग असहमति राख्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

नेकपाका सांसद संसद भवनभित्रै असुरक्षित, ज्यान जोगाउन माग गरेपछि सभामुख गम्भीर

नेपाल कम्युनिस्ट पार्टीका सांसद नयाँ बानेश्वरस्थित संसद भवनभित्रै असुरक्षित बनेका छन् । यसको खुलासा आइतबारको संसद बैठकमा नेकपाका सांसद खगराज अधिकारीले गरे । उनले ज्यान जोगाइ पाउँ भन्दै सभामुखको ध्यानाकर्षण समेत गराए।

खासमा सांसद अधिकारीले संसद भवनका कुर्सी भाँचिए पनि मर्मत नहुँदा दुर्घटना हुनसक्ने औल्याउँदै ज्यान जोगाइदिन सभामुखको ध्यानाकर्षण गराएका हुन्। संसद बैठकमा उनले कुर्सी उठाउँदै भने, सम्माननीय सभामुख महोदय चार पटक भयो म यहाँबाट लडेको ।

अहिलेसम्म दुर्घटना भएको छैन बचिएको छ । यो कुर्सी बनाउन संसद सचिवालयलाई कतिपटक भन्नु पर्ने हो ? संसद सचिवालयले आगामी दिनमा कम्तिमा यस्ता कुर्सीहरु नराखियोस् यो त धराप भयो। यो त गम्भीर आपत्तिको विषय भएकोले ज्यान जोगाइ पाउँ भन्नु पर्ने अवस्था आयो।

अधिकारीले आफ्नो कुरा राखिसकेपछि सभामुख कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।

प्रधानमन्त्री ओलीको ९ दिने भ्रमण तय

परराष्ट्र मन्त्रालयले आईतवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी ओलीको जेठ २५ देखि असार १ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको नौदिने भ्रमण तय भएको जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नेछ । त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्ने जानकारी दिइएको छ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग औपचारिक भेटवार्ता गर्नेछ ।

प्रधानमन्त्रीको बेलायत भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनेछ । फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए।प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कनु हुने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।