राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच पार्टी एकीकरणबारे छलफल सुरु भएको छ । पाँचौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरका जनकपुर पुगेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच यसबारे छलफल भएको राजपा महामन्त्री केशव झाले जानकारी दिए ।
जनकपुरमा यादव र महतोबीच पार्टी एकताबारे भने सामान्य मात्र छलफल भएको महामन्त्री झाले बताए । गत वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि समाजवादी पार्टी गठन भएको थियो । फोरम र नयाँ शक्तिबीचको एकतापछि पनि राजपासँग पार्टी एकीकरणबारे पटक–पटक छलफल हुँदै आएको थियो । यद्यपि पछिल्लो समय यसबारे खासै प्रक्रियागत हिसाबले विषय अघि बढेको थिएन ।
यत राजपाले भने सरकारमा समाजवादी पार्टी रहेसम्म एकता प्रक्रिया अघि नबढ्ने अड्डी लिइरहेको छ । एकताकै कारण र पार्टीले राखेका आफ्ना माग सुनुवाइ नभए सरकारबाट बाहिरिने समाजवादी पार्टीका अध्यक्ष यादवले बारम्बार धम्की दिइरहेका छन् । संविधान संशोधनलगायत विषय सरकारले सम्बोधन नगरे पार्टीबाट बाहिरिने यादवले पटक पटक बताउँदै आएका छन् ।
तत्कालीन संघीय समाजवादी पार्टीले सरकारसँग दुईबुँदे सहमति गरेको थियो । यसअघि पनि काठमाडौंमा समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र राजपाका नेताहरुबीच कुराकानी भएको थियो । स्रोतका अनुसार राजपा र समाजवादी पार्टीबीच कात्तिक महिनाभित्र एकीकरण हुन सक्ने बताइएको छ ।
तर, पार्टी एकीकरणबारे छलफल भइरहेको र यसलाई निरन्तरता दिइने बताइए पनि एकताको निश्चित समय भने तोकिनसकिएको राजपा महामन्त्री झाले बताए।




















प्रतिक्रिया