आज अपरान्ह बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । उनकाअनुसार बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको छ । र, अहिलेसम्म ३१ जना बेपत्ता रहेका छन् । २८ जना घाईते, दश बहजार तीन सय ८५ घरधुरी विस्थापित भएको छ ।
त्यस्तै, बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने पनि उनले जानकारी दिए । पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ।
त्यस्तै, यातायात आवागमन सुचार गर्न रक्षा, गृह र भौतिक मन्त्रालयलाई समन्वय गरेर काम गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए । उद्धार तथा राहतको काममा सहयोग पुर्याउने सबै जनप्रतिनिधिहरुलाई आग्रह गरिएको पनि उनले जनाए ।
वर्षाले हुन सक्ने जनधनको क्षति न्युनिकरणमा सरकार असफल
विहिबारदेखि परेको वर्षातले देशका विभिन्न स्थान डुबानमा पर्यो । वर्षात आइतबारसम्म निरन्तर भइरहने बताइएको छ । नदी तटीय तथा पहिरो आउन सक्ने क्षेत्रका जनता निकै सतर्क हुनुपर्ने देखिन्छ । तर सरकारले सम्बन्धित ठाउँमा प्रभावकारी सूचना प्रवाह गर्न सकेको छैन ।
हरेक वर्ष बाढी पहिरोले जनधनको क्षति हुने गरेको छ । तराई–मधेश क्षेत्रका नदी तटीय क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको प्रकोपले यसपटक पनि जनजीवन अस्तव्यस्त भइरहेको छ । ति क्षेत्रका बासिन्दा घरबार विहिन भएका छन् ।
तर सरकार न त राहत र उद्धार प्रभावकारी बनाउन सकेको छ, न त समयमा नै प्रकोपको सूचना प्रवाह गर्न सकेको छ । यसले गर्दा क्षति न्युनिकरण हुन सकेको छैन । सरकारले सूचना प्रवाहको सामान्य व्यवस्था गरे पनि जनधनको क्षति गर्न सकेको छैन ।
बाढी पूर्वानुमान महाशाखाले नै समयमा नै प्रभावकारी सूचना प्रवाह गर्न नसकिएको स्वीकार गरेको छ । समयमा नै नीतिगत सुधार गर्न नसक्दा वर्षायाममा हुने प्रकोपबारे जानकारी दिन नसकिएको वाढी पूर्वानुमान महाशाखाका जलविद् सुनिल पोखरेल बताउँछन् ।
अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह कारण बाग्मती नदी सप्तकोसी र कमला नदीको बाढीले अझै खतरा हुने भएको छ । तमोर नदीको वहाव खताराको सतह भन्दा माथि रहेकोल सर्तकता रहेर बस्नु पर्ने रहेको छ ।
कमला नदी बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको बाढी पुर्वअनुमान महाशाखाले जनाएको छ । नेपाल बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिमा ३० औं, जलवायु परिर्वतनजन्य विपद् जोखिममा चौथो, भूकम्पीय जोखिमका दृष्टिले ११ औं र बहुप्रकोपिय विपद् जोखिमका दृष्टिले २० औं स्थानमा पर्छ ।
तर यस्ता जोखिमबाट हुने क्षति न्युनिकरणमा सरकार उदासिन बन्दै आएको छ । बाढी पहिरोले जनधनको क्षति भइसकेपछि बल्ल महाशाखाले सूचना प्रवाहलाई प्राथमिकता दिएको छ ।
लगातारको वर्षाले बागमती नदीको जलस्तरले सतर्कताको तह पार गरेको भन्दै मौसमविद्हरुले तटीय क्षेत्रका स्थानीयलाइ सचेत गराएका छन् । गएराति नै सो नदीमा पानीको वहाव बढेपछि बिहान ३ बजे मोबाइल मार्फत स्थानीयमा सतर्कताको सूचना प्रबाह गरेको बाढी पूर्वानुमान महाशाखाका जलविद् सुनिल पोखरेलले जानकारी दिए ।
यसैगरी खाँडो, रातु, लालबकैया नदीमा पनि पानीको सतह बढेको छ । कोशी, कन्काइ लगायतका ठूला नदीमा पनि पानीको सतह बढ्दै गएको छ । प्रदेश २ र ३ मा आज पनि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाहरुमा जलस्तर बढ्ने भएकाले सचेत रहन भनिएको छ ।
हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित भएकाले आगामि २–३ दिन मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी केहि स्थानहरुमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्व्जित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन संस्कृतिमन्त्रीसमेत रहेका ओलीले गर्दै भाषिक– सांस्कृतिक एकताको सूत्रपात गर्ने आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्बनिर्धरित कार्यक्रममा उपस्थित भएको बताए ।
“यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु, थप केही गर्नु छ कि भनेर ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ”, प्रधानमन्त्री ओलीले भने । ऋषिमुनिको कालदेखि नै ‘सर्वे भवन्तु सुखिनः‘।’ भन्ने इच्छा गरिएकाले यो राष्ट्रिय आकाङ्क्षा बन्न पुगेको बताउँदै उनले हाल त्यसका लागि साधन एवं स्रोत दुवै भएको उल्लेख गरे । सञ्चार, यातायात, पूर्वाधारलगायत साधनले त्यो लक्ष्य पूरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
व्यक्तिले आफू बाँचिरहेको बेलामा नै योगदान गर्नुपर्छ भन्दै उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राखेको बताए ।सो अवसरमा संस्कृति राज्यमन्त्री धनबहादुर बुढा र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्य्विधिअनुसार छनोट हुनुभएका ४२ स्रष्टालाई सम्मान गरिएको बताए ।
भगत सर्व्जित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई मानव मर्यादामा स्थापित गर्न निरन्तर लागिपर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्व्जित मानव मर्यादा पुरस्कार विसं २०७२ देखि वितरण शुरु गरिएको बताए ।महाकवि देवकोटा बाल एवं लोकसाहित्य पुरस्कारबाट सम्मानित जीवेन्द्रदेव गिरीले पुरस्कारले थप काम गर्ने उत्साह जागेको बताउनुभयो । बाँकी समाचार अर्को बुलेटिन प्राप्त हुनेछ ।




















प्रतिक्रिया