पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएर सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको छ । आइतबार बिहान लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ५६ वटै ढोका खोलिएकामा त्यसपछि भने भारतको बिहार डुबानमा परेको भन्दै ३० वटा ढोका बन्द गरिएको छ ।
यसले गर्दा नेपालतर्फ डुबान बढ्दै गएको छ । यसअघि ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्दै जाँदा आइतबार बिहान सबै ढोका खोलिएको बताएका थिए । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा बिहान दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको थियो । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।
यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाए पनि भारतीय सरकारको दबाबमा ३० ढोका बन्द गरिएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ ।
यसअघि सबै ढोका खोलेपछि भारतको बिहार पनि जलमग्न भएको थियो । बिहार डुबेसंगै सप्तकोशीका ढोका बन्द गर्न दबाब दिइएको थियो । सन्धी अनुसार सप्तकोशीको कोशी ब्यारेज भारतको नियन्त्रणमा छ । बिहार डुब्दा त्यहाँको सरकारले ढोका बन्द गर्न भारतीय पक्षलाई नै दबाब दिएको थियो ।
उपत्यकामा जुलाईमा हुनुपर्ने बर्षाको एक तिहाई बर्षा एकैदिनमा
यस बर्षको मनसुनमा अहिलेसम्ममा नेपालमा सबैभन्दा बढी बाराको सिमरामा ३ सय ११ मिलिमिटर बर्षा भएको छ। यस बर्षको मनसुनमा असारको २७ गते सिमरामा ३ सय ११ मिलिमिटर बर्षा भएको जल तथा मौसम बिज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।यसअघि सिमरामा २०७४ सालको मनसुनमा २२७ मिलिमिटर बर्षा भएको थियो। यसैगरी काठमाडौ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी १ सय १५ मिलिमिटर बर्षा भएको मौसमबिद समिर श्रेष्ठले बताए।
सामान्यतया मनसुनमा एक सय मिलिमिटर सम्मको बर्षालाई भारी बर्षा भएको मानिएतापनी यसपाली एक सय १५ मिलिमिटर सम्म बर्षा भएको मौसमबिद श्रेष्ठले बताए। यसलाई अत्यधिक भारी बर्षा मान्नुपर्ने अर्का मौसमबिद मीनकुमार अर्यालले बताए। यसबर्ष उपत्यकामा सबैभन्दा बढी बर्षा शुक्रबार भएको थियो।जुलाईमा हुनुपर्ने बर्षाको एक तिहाई बर्षा एकैदिनमा यस बर्षको मनसुनमा जुलाई महिनामा मात्रै ३ सय ६३ मिलिमिटर बर्षा हुनुपर्नेमा दुई सातामै ७० प्रतिशत बर्षा भइसकेको छ।
जुलाईको १४ तारिख अर्थात २ साता बित्दा ३ सय ६३ मिलिमिटरमा २ सय ५५ मिलिमिटर बर्षा भएको हो। २ सय ५५ मिलिमिटरमा एकैदिन जुलाई १२ तारिखमा १ सय १५ मिलिमिटर बर्षा भएको हो। एक महिनामा हुनुपर्ने बर्षाको एक तिहाई बर्षा एकै दिन परेकाले यो मनसुनमा अत्यधिक भारी बर्षा भएको अर्याल बताउछन।
मनसुनी न्युन चापिय रेखा बिस्तारै मध्य, पुर्वबाट दक्षिणतिर सर्दै गएको छ। यसले मनसुन कमजोर हुदै गई निरन्तर भारी बर्षा हुने क्रम रोकिने मौसमबिद अर्यालले जानकारी दिए।न्युन चापिय रेखा दक्षिणतिर सरेकाले निरन्तर बर्षाको क्रम रोकिने यो न्युन चापिय रेखा दक्षिणतिर सरेकाले मध्य र पुर्वका केही स्थानमा भारी बर्षा भएपनि अन्य स्थानमा निरन्तर बर्षाको क्रम रोकिनेछ। साथै पानी पर्ने र रोक्ने क्रम भने जारी नै रहनेछ । यसैगरी आजदेखि पश्चिम क्षेत्रमा घाम समेत लाग्ने उनको दाबी छ।
मौसमबिद अर्यालका अनुसार सामान्यतया न्युनचापिय रेखामा न्युन चापिय क्षेत्र बनेमा त्यस क्षेत्रमा भारी बर्षा हुनेछ। मंगलबारदेखि लगातारको भारी बर्षा हुने क्रम रोकिदै जानेछ।
बाढी पहिरो अपडेट : मृतकको संख्या ६० पुग्यो, २६ वेपत्ता, १४ सयको उद्धार
बिहीबारदेखि बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको दिउँसो साढे ४ बजेसम्मको तथ्यांकअनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाढी पहिरोमा परी ३८ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी पहिरोमा परेर २६ जना बेपत्ता छन् ।अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरेको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरेका हुन् ।
बाढी पहिरोमा परी प्रदेश एकमा सत्र, प्रदेश दुईमा सात, प्रदेश तीनमा बाह्र, प्रदेश पाँच र छमा दुईदुईको ज्यान गएको छ । यसैगरी, उपत्यकाको दुई जिल्ला काठमाडौं र ललितपुरमा आठ जनाको मृत्यु भएको छ ।
देश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एकएक जनाको ज्यान गएको छ । प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुईदुई तथा पर्सा, रौतहट, सिरहामा एकएक गरी सात जनाको मृत्यु भएको छ ।
प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीनतीन, सिन्धुली र धादिङमा दुईदुई तथा रामेछाप र चितवनमा एकएक जनाको मृत्यु भएको छ ।यसैगरी, प्रदेश ५ को पाल्पा र दाङमा एकएक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ र ललितपुरमा एकएक जना बेपत्ता भएका छन ।
यस्तै, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एकएक तथा मोरङ र इलाममा तीनरतीन जना बेपत्ता भएका छन । प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा र धनुषामा एकरएक जना बेपत्ता छन । यस्तै प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परी उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना घाइते भएका छन । प्रहरीका अनुसार बाढी पहिरोमा फसेका उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरिएको छ ।




















प्रतिक्रिया