Logo

प्रमुख समाचार

प्रचण्डलाई आयो यस्तो ठुलो अफर !



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सम्बन्ध नजिकिएको छ । गएको संसदीय चुनावको केही महिना अगाडि देखि टाढिएका नेताद्वय पछिल्लो समय नजिकिन थालेका छन् । प्रचण्ड र देउवाबीच बेला बेलामा भेटघाट भइरहेको छ । होटल समिटको भेटपछि नजिकिएका दुवैले मिलेर जानसक्ने सम्भावनाबारे समेत छलफल गरिसकेका छन् ।

पछिल्लो समय देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि तयार रहन भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकाल नजिकिदै जाँदा देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि तयार रहन भन्नुलाई अर्थपूर्ण मानिएको छ ।

दुई वर्ष्भित्र अविश्वासको प्रस्ताव पेश गर्न नपाइने कानुनी व्यवस्थाका कारण ओली हलचल नहुने अवस्थामा छन् । तर, पछिल्लो समय खुलेका केही विषयले ओली सजिलै पदमा रहिरहन कठिन छ । प्रचण्डले डेढ महिना अघि आधा आधा अवधि प्रधानमन्त्री बन्ने भित्री सहमतिको सनसनीपूर्ण खुलासा गरिदिए । ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनको अन्तवार्तामा खुलासापछि अबको राजनीतिक सजिलै जाने छाँट नदेखिएको हो ।

यही मौकामा देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न तयार रहन भनेका छन् । विगतमा ओली सरकार ढाल्न देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको इतिहास छ । प्रचण्ड र देउवाबीच आधा आधा अवधि प्रधानमन्त्री बन्ने सहमति भएको थियो । त्यसै अनुसार देउवा चुनाव गराउँदा प्रधानमन्त्री बने । तर, प्रचण्डले ओलीसँग मिलेर चुनाव लड्नुका साथै पार्टी समेत एक गरे ।

अहिले सत्तासंघर्ष हुने छाँट देखिदै जाँदा देउवाले पनि नयाँ तुरुप हानेका छन् । उनले प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री बन्न सहयोग गर्ने आश्वासन दिएका छन् । यसले ओलीलाई अहिले नै झड्का परेको छ । अब नेपाली राजनीतिमा नयाँ नयाँ तुरुप फाल्ने होडवाजी चल्ने छाँट देखिदैछ ।

नेकपा फुटाउँन यस्तो चलखेल प्रचण्डले गरे खुलासा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफूभित्रका कमी कमजोरीलाई धोइ पखाली गरेर अघि बढ्ने अठोट गरेका छन्। अध्यक्ष प्रचण्डले कमी कमजोरी सच्याउने संकल्प गरेर अघि बढ्ने अवस्था आएको समेत बताए ।नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कमी कमजोरी सच्याएर अघि बढने बताएका हुन् ।

उनले असाधारण रुपमा पार्टी एकता भएको उल्लेख गर्दै यसको उद्देश्य पूरा गरिएमा नै पुष्पलालप्रति सच्च श्रद्धाञ्जली हुने बताए । केही प्रतिक्रियावादी शक्तिले चुनावमा मिल्नै सक्दैनन्, पार्टी एकता हुनै सक्दैन, संविधान आउनै सक्दैन, गणतन्त्र आउनै सक्दैन भनेपनि त्यसको जवाफ कामबाट दिइएको र आगामी दिनमा पनि जवाफ दिइने बताए ।

अहिलेको अवस्था नाटकीय हिसाबले नआएको जनाउँदै कहिले कसैलाई प्रधानमन्त्रीको अफर, कहिले कसैलाई प्रधानमन्त्रीको अफर आएको भएपनि लोभ नगरी पार्टी एकताको प्रक्रियामा गएको प्रष्ट पारे ।

अध्यक्ष प्रचण्डले जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादमा जाने नै पार्टीको लक्ष्य रहेको बताउँदै पार्टी एकता भएपछि जनतामा ठूला अपेक्षा भएकोमा त्यो पूरा गर्नका लागि पार्टी अब लागिपर्ने समेत बताए । उनले पार्टी एकताको प्रक्रिया अब निष्कर्षमा पुगिसकेको बताउँदै केही कुरालाई औपचारिकता दिन मात्रै बाँकी रहेको तर साउनभित्रै सबै काम सक्ने बताए ।

उनले पार्टीको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसपछि देशव्यापी रुपमा खटिएर जनतालाई उत्साहित पार्ने समेत बताउदै आफू र पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबीच शान्ति प्रक्रियाका क्रममा देखिने मात्रै होइन नदेखिने संवाद भएको उल्लेख गर्दै त्यसपछि नै शान्तिपूर्ण रुपमा प्रतिस्थापन गरिएको समेत जानकारी दिए।

राष्ट्रको नेतृत्वमा व्यवसायिक पृष्ठभूमिका नेताहरुको यस्तो छ इतिहास, नेपालमा विनोद चौधरीहरु बन्लान विकल्प :

विश्व राजनीतिको पछिल्ला दिनमा केवल राजनीति मात्रै नभएर आर्थिक विषय समेत जोडिएको अर्थराजनीतिलाई महत्व दिन थालेको छ। २० औं शताब्दीसम्म एक अर्काबीच चल्ने हानाथाप र साना ठूला युद्धलाई विस्तारै विर्सिएर विश्वका प्रभावशाली मुलुकहरु विज्ञान र प्रविधि मार्फत् थप शक्तिशाली बन्ने प्रयासमा लाग्न थालिरहेका छन्।

राजनीतिक आस्थाको भन्दा पनि व्यापार र व्यवसायको आधारको भूराजनीतिक सम्बन्धहरु दीगो र प्रभावकारी हुन थालिसकेका छन् । विश्व राजनीतिमा द्विदेशीय व्यापारले कुटनीतिलाई समेत प्रभाव पार्न थालेपछि व्यवसायिक नेतृत्वकर्ताहरुको चर्चा पनि अन्तराष्ट्रिय राजनीतिमा हुन थालेको छ। पछिल्लो समय व्यवसायिक क्षेत्रका मानिसहरुले देशकै राजनीतिक नेतृत्व समेत लिन थालेबाट अब व्यवसायिक नेतृत्व पनि वैकल्पिक राजनीतिक नेतृत्वका रुपमा तयार देखिएको हो। कतिपय ठाउँमा व्यवसायिक नेतृत्व वैकल्पिक नेतृत्वका रुपमा मात्र नभइ मूलधारकै नेतृत्वको रुपमा समेत खडा हुन थालेको छ।

राजनीतिक रुपमा भिन्न आदर्श मान्ने भारत र चीन व्यापारको मामलामा अहिले एउटै लाइनमा खडा हुन थालेका छन् । यसबाहेक भूराजनीतिमा देखिने धेरै विवाद तथा असमझदारीहरु सबै आर्थिक विषयबस्तुलाई लिएर नै हुने गरेका छन् । २० औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आईपुग्दा अमेरिका लगायतका देशहरुले पटक पटक उद्यमी व्यवसायीलाई देशको राजनीतिक नेतृत्व गर्ने जिम्मा दिएको घटनाले पनि पछिल्लो समय विश्वले आर्थिक विषयबस्तुलाई बढी महत्व दिएको देखिन्छ।

वारेन जी हार्डिङ अमेरिकाका २९ औं राष्ट्रपति हुन् । सन् १९२१ देखि १९२३ मा अमेरिकाको राष्ट्रपति बनेका हार्डिङ सहित अहिलेसम्म दुईजना राष्ट्रपतिहरु व्यवसायिक क्षेत्रबाट आएका छन्। अमेरिकाका ४४ औं तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि लामो व्यवसायिक अनुभव भएका एक सफल व्यवसायी हुन् । उनको विभिद क्षेत्रमा व्यापार व्यवसाय रहेको छ। रियल स्टेट, होटल, क्यासिनो जस्ता क्षेत्रमा ट्रम्पको लगानी रहेको छ।

त्यसैगरी अमेरिकामा व्यवसायिक क्षेत्रबाट राजनीतिमा सफल भएका अर्का व्यक्ति क्यालिफोर्नियाका पूर्व गभर्नर आर्नोल्ड पनि हुन। पूर्व गभर्नर आर्नोल्ड एक विशिष्ट व्यवसायी, राजनीतिज्ञ र सामाजिक अभियन्ता थिए। उनी पेशाका हिसाबले गभर्नर बन्नु भन्दा पूर्व खेल तथा कलाका साथै सामाजिक जीवनमा सक्रिय थिए। जसका कारण उनी राजनीतिमा स्वभाविक रुपमा आकर्षित भए। पछि उनी अमेरिकाको गभर्नर नै बने।

त्यस्तै लेबनानका पूर्व प्रधानमन्त्री राफिक अल हरिर पनि व्यवसाय मार्फत् राजनीतिमा छिरेर प्रधानमन्त्री बनेका व्यक्ति हुन्। प्रधानमन्त्री बन्नुपूर्व उनी साउदी ओगर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत थिए। यस बाहेक पनि साउदी अरबमा ठूला कन्स्ट्रक्सन कम्पनीको समेत मालिक हरिर फोर्ब्सको अरबपतिको सूचीमा समेत परिसकेका व्यक्ति हुन्। हरिरको २००५ मा हत्या हुनु सम्म पनि उनी व्यवसायका अतिरिक्त राजनीतिमा पनि त्यतिकै सक्रिय थिए।

इटालिका व्यवसायी एवं पूर्व प्रधानमन्त्री समेत रहेका सिल्भियो बेर्लुस्कोनी पनि व्यवसायद्वारा राजनीतिमा आएर सफल भएका व्यक्ति हुन्। उनी तीन पटकसम्म इटालीका प्रधानमन्त्री भए। राजनीतिमा आउनुपूर्व उनी रियल स्टेट र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गर्ने व्यवसायी थिए। नेपालमा पनि राजनीतिमा लगन सहित लागेका व्यवसायीहरुलाई हेरेर नेपाली राजनीतिले उद्यमी व्यवसायीक पृष्ठभुमीको व्यक्तिलाई हेरेर देशको राजनीतिक नेतृत्वमा उद्यमी व्यवसायीक जगतको मानिस आउनुपर्ने चर्चा पनि हुन थालेको छ।

यसै पृष्ठमूमीमा व्यवसायीक पृष्ठमुमीका व्यक्तिहरुले राज्य सञ्चालन गर्ने सम्भावना कत्तिको छ भन्ने सवाल समेत उठ्न सुरु भएको छ। दुई तिहाईको कम्युनिष्ट सरकारले समेत व्यवस्थापकीय क्षमता देखाउन नसक्दा जनअपेक्षा अनुसार काम गर्ने सकेको छैन। आर्थिक विकासमा समेत सरकारको ध्यान पुग्न सकेको छैन। यसको विकल्पमा आम मानिसले व्यवसायीक अनुभव भएकाहरुलाई नै खोज्ने अवस्था सिर्जना हुँदैछ। नेपालमा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरु पटकपटक मन्त्री त बनिरहेका छन्। तर, राजनीतिमा रहेका व्यवसायीक घरानाका केहि सांसद प्रधानमन्त्रीकै दावेदार हुनसक्ने आँकलन समेत हुन थालेको छ।

अन्तराष्ट्रिय अनुभवलाई दृष्टान्त दिने कतिपय व्यक्तिहरु नेपालमा पनि व्यवसायिक घरानाबाट प्रधानमन्त्री नै बन्न समेत सम्भव रहेको बताउने गरेका छन्। संसदमा केही व्यवसायिक अनुहारहरु पनि देखिन्छ जो भविष्यमा प्रधानमन्त्रीको दाबेदार समेत बन्न सक्छन्। अहिले संसदमा रहेका चर्चित व्यवसायीहरु मध्ये पनि केही सांसदहरु प्रधानमन्त्री नै बन्दा पनि पार लगाउन सक्ने पात्रको रुपमा देखिन्छन।

फोर्ब्सले समेटेका नेपालका एकमात्र अर्बपति विनोद कुमार चौधरी अहिले नेपाली काँग्रेसबाट संघीय संसदमा सांसद छन्। उनी काँग्रेसको मनोनित महासमिति सदस्य समेत छन्। ०६२र६३को जनआन्दोलनपछि एमाले प्रवेश गरेर सांसद बनेका उनी अहिले समानुपातिक निर्वाचन प्रणाली मार्फत् कांग्रेस कोटाबाट संसदमा छन्। नेपाल, भारत हुँदै एशियाका विभिन्न मुलुक अफ्रिका, यूरोप र अमेरिकामा समेत आफ्नो व्यापार विस्तार गरेका चौधरीको व्यवसायसँगै पछिल्लो समय राजनीतिमा देखिएको सक्रियताले उनी देशको मूल नेतृत्वमा पुगेको अवस्थामा समेत सो भूमिकालाई स्वभाविक रुपमा निर्वाह गर्न सक्ने हैसियत राख्ने उनलाई जान्नेहरु बताउँछन्।

ठूला व्यवसायिक घराना मध्य गोल्छा अर्गनाइजेशनका दिवाकर गोल्छा र खेतान समुहका राजेन्द्र खेतान संविधानसभामा पुगेका थिए। संविधानसभामा रहेर संविधान निर्माणमा आफ्नो भागको भूमिका खेल्ने बाहेक त्यसयता यि घरानाबाट राजनीतिमा सक्रिय सहभागिता रहेको छैन। यद्यपी राजनीतिमा चासो राख्ने र आफ्ना मन खाएकालाई सहयोग गर्नेसम्को भूमिकाबाट भने यो घराना पनि विमुख चाहि छैन। संविधानसभामा रहँदा यूवा तथा उद्यमीहरु अलग अलग समुह बनाएर काम गरेका खेतान राजनीतिमा प्रत्यक्ष सहभागि नहुँदा पनि यो काममा भने सक्रिय नै छन्।

मोतीलाल दुगड प्रतिनिधि सभाका समानुपातिक सदस्य हुन् उनी परिस्थिति मिलेसम्म मन्त्रीसम्म बन्ने सोचाइ राखेरै राजनीतिमा लागिरहेका छन्। अर्का सांसद एवं लामा कन्स्ट्रक्सनका जीपछिरिङ लामा पनि काँग्रेसका समानुपातिक सांसद हुन् । उनीसँगै शिक्षा उद्यमी उमेश श्रेष्ठ, उद्यमी व्यवसायी दिब्यमणि राजभण्डारी, सूर्यबहादुर केसी र कर्मा घले पनि काँग्रेसबाट सांसद बनेका छन् । यी सबै उम्मेदवारहरु पनि सरकारमा मन्त्री बन्ने सम्भावना बोकेका सांसदहरु हुन्।

राजनीतिसँगै अर्थ प्रत्यक्ष जोडिएर आएका कारण अहिले अर्थराजनीतिको बहश हुन थालेको छ। यो अवस्थामा अर्थमा राम्रो पकड जमाएकाहरुले राजनीति चासोलाई बढाउँदै लगाव राख्न थाले भने उनीहरुको राजनीतिमा प्रभाव नबढ्ला भन्न सकिन्न। आर्थिक अवस्था बलियो भएकाहरुले जनसम्पर्कलाई स्थापित गर्दै प्रत्यक्ष चुनावमा समेत पकड जमाएबाट यो तथ्यलाई नजरअन्दाज गर्न गाह्रो छ।

जहिले पनि तरल भइरहने नेपालको राजनीतिको लामो भविष्यवाणै गर्नु राजनीतिक पण्डितहरुको पनि बशको बिषय होइन। तर यस्तै संक्रमणमा कतिपय नयाँ चेहरा राजनीतिमा अचानक स्थापित हुने सम्भावना पनि त्यतिकै रहन्छ। संविधान अनुसार आवधिक निर्वाचन आउन अझै लामै समय रहेको अवस्थामा माथि उल्लेखित व्यवसायकि घराना मध्ये राजनीतिमा सबैभन्दा चासो राखेको घरानाका प्रतिनिधी विनोद कुमार चौधरीको राजनीतिक भविष्यवाणी गर्नु हतार हुनसक्छ तर राजनीतिमा उनको लगाव लामो दौडको घोडा बन्ने खालको देखिन्छ।

काठमाडौं केन्द्रीत आफ्नो व्यवसायलाई वैश्विक बनाए झैं संक्रमणमा अल्झिरहेको नेपाली राजनीतिलाई अवसर आउँदा डोहोर्याउने क्षमता उनले कत्तिको राख्छन त्यो भने हेर्न बाँकी छ। यसमा उनको राजनीतिक जीवनको सफलता समेत झल्किन्छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार ०४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।