Logo

प्रमुख समाचार

नेपाली कांंग्रेसमा एकैपटक २५ हजार कार्यकर्ता थपिँदै



नेपाली कांग्रेस पार्टीमा अब एकैपटक २५ हजार बढी कार्यकर्ता थपिने भएका छन् । पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

बिहीवारको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण पार्टी निधिलाई हस्तान्तरण गरेका छन् । सो विवरण अनुसार कांग्रेस पार्टीमा सदस्य थपिने भएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २० गतेको बैठकको निर्णय अनुसार कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भातृ संगठन एवं शुभेच्छुक संस्थाको समायोजन गरी एकता गर्ने निर्णय भएको थियो ।

कांग्रेससहित १० दल एक ठाउँमा, देउवा र वैद्यले नेतृत्व गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार निरंकुश बन्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित १० राजनीतिक दल एक ठाउँमा उभिएका छन् । यी दश राजनीतिक दलको विद्यार्थी संघले आफ्ना माउ पार्टीलाई एक ठाउँमा ल्याएको हो। केपी शर्मा ओली नेतृत्वको सरकार जनअपेक्षाविपरीत गएको भन्दै आन्दोलनका निम्ति पार्टीलाई एक ठाउँ ल्याउनुपर्ने बाध्यता भएको विद्यार्थी नेताहरू बताउँछन् ।

सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कोपाल किराँती नेतृत्वको नेकपा माओवादी, नेकपा माले, विप्लव नेतृत्वको नेकपा र चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी एकता केन्द्र एक ठाउँमा उभिएका हुन् ।

यी सबै राजनीतिक दलका विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै आफ्नो माउ पार्टीका शीर्ष नेतालाई एक ठाउँमा उभ्याएका हुन् । १० वटा पार्टीको भ्रातृ संगठनसँग जनजाति विद्यार्थीहरूको जातीय संस्था जनजाति विद्यार्थी महासंघ पनि जोडिएको छ । कार्यक्रमसँगै अब सरकारविरोधी आन्दोलनका लागि पार्टीलाई एक बनाउने कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसँगका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले बताए ।

‘हरेक आन्दोलनमा सुरुमा विद्यार्थीले नै नेतृत्व गर्दै आएको इतिहास हामीसँग छ’, उनले भने, ‘दुई तिहाईको बलियो सरकारको दम्भका विरुद्ध आन्दोलन गर्नुपर्छ। त्यसको सुरुवात हामीले गरेका हौं ।’

उनले चाँडै कार्यक्रममा सहभागी दलका शीर्ष नेताबीच वार्ता हुने बताए । ‘सभापति (शेरबहादुर देउवा)को बाहिर कार्यक्रम छ । त्यो कार्यक्रम सकेर सबै आज सहभागी दलका नेताको वार्ता हुने कुरा भएको छ’, उनले नागरिकसँग भने, ‘अरू दलसँग पनि कुरा भइरहेको छ । अबको आन्दोलनको नेतृत्व फेरि कांग्रेसले गर्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष किरातीले अब आन्दोलन अपरिहार्य रहेको बताए । यसका लागि सबै दल एक हुनुको विकल्प नभएको उनको भनाई थियो । ‘अब आन्दोलनको समय आएको छ’, उनले भने, ‘त्यसको संयोजनका लागि लोकतान्त्रिक खेमाको नेतृत्व देउवाजी र कम्युनिस्टको वैद्यजी (मोहन वैद्य)ले गर्नुपर्छ।’

संयुक्त विद्यार्थीको मोर्चाबन्दी कार्यक्रममा सत्तारुढ फोरमको विद्यार्थी संगठन सहभागी भए पनि यसका शीर्ष नेता भने थिएनन् । विप्लव नेतृत्वको नेकपाले कार्यक्रममा सन्देश पठाए पनि प्रतिबन्धका कारण नेताहरू भने सहभागी हुन सकेनन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार ०९:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।