Logo

बैंकिङ

नेपाल बैंकले शून्य मौज्दात र उच्च ब्याजदरमा सामूदायिक विद्यालयका छात्राको खाता खोल्दै 



नेपाल बैंक लिमिटेडले सामूदायिक विद्यालयमा अध्ययनरत छात्राको शून्य मौज्दात तथा उच्च ब्याजदरमा खाता खोल्ने योजना ल्याएको छ ।  मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामूदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने उद्देश्यले यस्तो योजना अगाडी सारेको हो । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्ने  बैंकले जनाएको छ । 
चाङ्गुनारायण नगरपालिकाभित्रका सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका नाममा खाता खोल्ने गरी यही भदौ २५ गते बैंक र नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत बैंकसँग हालै भएको सम्झौतामा उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष रु ४ हजार जम्मा गरिने समझदारी भएको हो ।

सोही सम्झौताअनुसार बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने÷झिक्नेलगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नगरपालिकाको सिफारिसमा खोलिएका खातामा रु ३ लाखसम्मको निक्षेप बीमाको समेत व्यवस्था रहेको छ । 
यस प्रकारका खातामा बालिका आफैले वा उनीहरुका अभिभावकले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस कार्यक्रमबाट छात्राको शिक्षामा पहुँच अभिवृद्धि गर्न, उनीहरु अध्ययनका क्रममा बीचमा विद्यालय छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, बालविवाह निरुत्साहन गर्न, छोरीको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सो रकम छात्राले १२ कक्षा उत्तीर्ण गरेपश्चात् मात्र झिक्न पाउनेछन् ।

साथै, नगरपालिका र बैंकबीच ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत सम्झौता भएको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका अनुसार नगरपालिका क्षेत्रका कृषि तथा पशुपक्षीजन्य व्यवसाय प्रवर्द्धन तथा नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरवासी एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीलाई ऋण प्रवाह तथा ब्याज अनुदानबाट स्वरोजगारको अवसर तथा उद्यम प्रवर्द्धन गर्न बैंकको विस्वास रहेको छ ।

हाल बैंकले १८९ शाखा, १२५ एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा  प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  १० : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।