Logo

सुरक्षा/अपराध

छिल्लीकोट मन्दिर दर्शनमा गएका बहिनीमाथि दुर्व्यवहार, दाजुलाई निर्घात कुटपिट



आन्तरिक पर्यटकको मुख्य क्षेत्र बन्दै गएको दाङको पर्यटकीयस्थल छिल्लीकोट मन्दिरमा दर्शन गर्न गएका दाजुलाई कुटपिट गरि बहिनीमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भइ फरार अन्य ४/५ जना युवाको खोजी भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता झलकप्रसाद शर्माका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोटका २१ वर्षीय बलदेब परियार रहेका छन् । 

शनिबार दिउँसो तुलसीपुर बजार क्षेत्रबाट पर्यटकीय तथा धार्मिकस्थल छिल्लीकोटको भ्रमणका लागि दाजु र केही आफन्तसँगै पुगेकी १७ वर्षीया किशोरीलाई परियारको समूहले जोरजवरजस्ती हातपात गरेको थियो । दाजुले त्यसो नगर्न आग्रह गर्दा र रोक्न प्रयास गर्दा मदिराले मातेका परियारको समूहले ती किशोरीका १९ वर्षीय दाजुलाई निर्घात कुटपिट गरि घाईते बनाएका थिए ।

प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनीमाथि ढुंगा र हात खुट्टाले चार/पाँच जना मिलेर कुटपिट गर्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । ती किशोरीले पानी ट्याङ्की नजिकै दिउँसो डेढ बजेतिर पानी पिउँदै गर्दा मदिराले मातेका परियारले जोरजवरजस्ती हातपात गरेका थिए । 

प्रहरी प्रवक्ता शर्माले भने ‘किशोरीको संवेदनशील अंगमा हात हाल्दै जोरजवरजस्ती गर्न खोजेपछि सँगै रहेका दाजु र आफन्तले त्यसो नगर्न भन्दै रोक्न खोज्दा उल्टै दाजुमाथि निर्घात कुटपिट भएको रहेछ,’ ‘किशोरीमाथि जोरजवरजस्ती हातपात र दुर्व्यवहार परियार एक्लैले गरेको भए पनि उनका दाजुलाई समात्न र कुटपिट गर्न अन्य ४/५ जना युवाले सघाएको खुल्न आएको छ ।’ 

छिल्लीकोट मन्दिर पहाडी र वन जंगलको क्षेत्रमा छ । 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।