अब छेकबार हुने छैन
यो कालकोठरीको बुइँगलमा कसैको !
गौँडो ढुकेर बस्ने चन्द्रवीर
सपनाको लट्टाई बोकेर— अरब गएको छ !
नोटका फ्याउरी नचाएर
भ्याएसम्म उठाऊ
पसिनाको खमारबाट नीला बिस्कुनहरू !
यही बिस्कुनको भर्याङ चढेर
भोलि उक्लिनु छ
तिमीले आफ्नै जिन्दगीको अग्लो पहाड !
…………………
चोया खिपेझैँ खिप
यो अर्थतन्त्रका कुरकुरे करङहरू
र ठड्याऊ भूतबङ्ला
जहाँ तिमी ढुक्कले निदाउन सक्छौ !
बुलेटका धारहरू ओछ्याएर
कोक्रामा सुताइदेऊ
हाम्रा ब्यालेटका युगीन सपनाहरू
र घन्काऊ घिन्ताङ-घिन्ताङ, राष्टवादको मादल !
आयुका लङ्गुरहरू
सत्ताको लाबरझैँ तन्किएर
आफैँ छमछमी नाचिरहनेछ— तिम्रो प्रजातन्त्र !
………………….
यो जुवाघरबाट निस्किएर
जति सक्छौ रेट
यो सारङ्गीजस्तै बूढो देशको घाँटी !
भोकले गलेका तारहरूबाट
मसिनो धुन निस्किएर
बेस्सरी गाइरहनेछ— एउटा प्रेमील कोरस !
जस्तो कि :-
‘क्या राम्रो देख्छु गुएँली फूल
मै चुँडी सिउरौँ कि
पिरीमा पिरी पिपीरी पात
मै टिपी बजाऊँ कि !’
……………………..
काँचो धागो टुटेर
कति चङ्गाहरू चेट भइरहेछन्
कुनै हिसाब छैन— शासकका बहीखाताहरूमा !
मरूभूमिको एक्लो पठारबाट
चन्द्रमाजस्ता चन्द्रवीरहरू
कहिलेसम्म कफन-बाकसमा घर फर्किरहन्छन्
र सिंहदरबारको छायाँमुन्तिर
अलख जगाइरहन्छ– एउटा कालो समय ?
रातको बुई चढेर
कसले डढाइरहेछ– बस्तीका सारा गोठहरू
र अबोध केटाकेटीहरूलाई
बाबुको तस्बिर देखाउँदै रोइरहेछन् – आमाहरू ?
………………..
आँधीअघि नै,
जति सक्छौ लठ्ठिँदै नाच
तिम्रा खुसीहरूको चतुर्भुजी आँगनमा !
सायद
अब केही बेरमै
जिन्दगीको अन्तिम पत्रमा हस्ताक्षर गर्नु छ !
म त छापामार हुँ
देश खोज्न निस्किएको छु
तिमीसँग संवाद गर्न
अब मसँग कुनै शब्दहरू बाँकी छैनन् !
यतिखेर म
आवाजविहीन लाटो बनको छु— बमको गोलाजस्तै !















प्रतिक्रिया