Logo

प्रमुख समाचार

नेविसंघद्वारा त्रिवि रजिष्टार कार्यालयमा तोडफोड



नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्व विद्यालयको रजिष्टार कार्यालय तोडफोड गरेको छ। त्रिभुवन विश्वविद्यालयले लामो समयदेखी कोरोनाको सन्त्रास देखाउँदै लाखौं विद्यार्थीको भविष्य माथि खेलवाड गरिरहेको भन्दै आन्दोलनमा उत्रेको नेविसंघ तोडफोडमा उत्रिएको हो ।

त्रिभुवन विश्व विद्यालयका नेविसंघ सभापति जगदिश भट्ट, नेविसंघ नेता गंगाराम न्यौपाने, नेपाल ल क्याम्प नेविसंघका नेता दिर्घराज भट्ट,हरिश देउवा, डम्मर साउद लगायतको नेतृत्वमा गएको टोलीले मंगलबार बिहान रजिष्टारको कार्यालय तोडफोड गरेको हो । नेविसंघले नयाँ शैक्षिक वर्ष सुरु गर्नुपर्ने माग गर्दै पटक पटक त्रिविको ध्यानाकर्षण गर्दा समेत वेवास्ता गरेकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।

नेपाल ल क्याम्पस नेविसंघका नेता दिर्घराज भट्टले आफूहरु पटक पटक विद्यार्थीको माग लिएर रजिष्टारको कार्यालय, भिसीको कार्यालय पुग्दा पनि वेवास्ता गरेका कारण तोडफोडमा उत्रेको अनलाइनपाना डटकमलाई जानकारी दिएका छन् ।

आन्तरिक मूल्यांक तथा अनलाइन परीक्षा प्रणालीमार्फत परीक्षा लिएर भए पनि रोकिएका परीक्षा तत्काल सुचारु गर्नु पर्ने, लाखौं विद्यार्थीसँग जोडिएका त्रिविका सम्पूर्ण क्याम्पसमा पठनपाठनको उचित प्रवन्ध गर्नु पर्ने लगायतका माग नेविसंघको रहेको नेता भट्टको भनाइ रहेको छ । आन्दोलनमा उत्रेका नेविसंघको टोलीले त्रिविका कुर्सी, दराज, रजिष्टर लगायतका सामग्री तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।