Logo

सिन्धुलीमा सवारी दुर्घटना एक जनाको मृत्यु,दुई जना घाइते



सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला, इटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार यादवको दुर्घटनामा परी टाउकामा गहिरो चोट लागेको र थप उपचारका लागि सिरहाको फूलकुमारी अस्पताल कर्जनाहा अस्पतालमा लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो । उहाँ लघु उद्योग वित्तीय संस्था दुधौली शाखाको शाखा प्रमुखका रुपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दुर्घटनामा मोटरसाइकल चालक बारा, निजगढ नगरपालिका –७  घर भएका २४ वर्षीय  अनिल घिमिरेको हात र खुट्टामा सामान्य चोट लागेको र उहाँ आवश्यक उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । घिमिरे आरम्भ माइक्रो फाइनान्स दुधौलीमा कार्यरत रहेको बताइएको छ ।

यस्तै दुर्घटनामा साइकल चालक सिन्धुलीको दुधौली नगरपालिका –७ सुगारे बस्ने २३ वर्षीय रासलाल अधिकारीको अगाडिका पाँच दाँत भाँच्चिएको तथा हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मदन भण्डारी राजमार्गमा कटारीबाट दुधौलीतर्फ आउँदै गरेको  लु ५८ प २६३८ अस्थायी नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल सुगारेमा  ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  ७ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।