Logo

राजनीति

को हुन् भारतमोहन अधिकारी ? यस्ता छन उनले गरेका लोकप्रिय काम



पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी नेपाली राजनितीका शालिन नेता थिए । उनी जीवनभर सक्रिय राजनीतिमा रहे तरपनि विवादमा आएनन् । दाजु मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका भरतमोहनलाई त्यसबेलाको कामले नै सधैँभरी चर्चामा राख्यो ।

सामाजिक परिवर्तनको कुरा गर्दा दाजुभाइले गरेको काम नै अहिलेसम्मको उत्कृष्ठ मानिन्छ । २०७१ सालमा तत्कालिन नेकपाले ७० वर्षे उमेरहद लगाएपछि भरतमोहनले राजनीति छोडेका थिए ।

वि।सं। १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गरे ।

२००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ हुन् । नेता अधिकारीले विराटनगरको आर्दश माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए ।

अधिकारीले बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र, दर्शन शास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका छन् ।

तत्कालिन नेकपा एमालेको ९ महिने शासनकाल अर्थात २०५१ सालमा नेता अधिकारी पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री भए । उनी अर्थमन्त्री भएपछि ‘वृद्धभत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नेता अधिकारीले नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए ।

त्यस्तै नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डु सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी लगाउतका कार्यक्रम ल्याएर जनतामा बेजोड उत्साह ल्याएका थिए ।

तत्कालिन एमाले नेतृत्वले गरेका यिनै कामलाई अहिलेसम्म विकाउने गरिएको छ । तर त्यही पार्टीले भारतमोहन थला पर्दा खासै चासो भने दिएन ।

नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वा्चित भएका उनी भने दोस्रो संविधानसभामा समानुपातिक सभासद बने । पटक–पटक अर्थमन्त्री भएका अधिकारीसँग उपप्रधानमन्त्रीसहित कानुन, उर्जा, वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेको अनुभव थियो ।

नेता अधिकारी २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष बने । अधिकारीकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड परिवर्तन गरेर आर्दश स्कुलको बोर्ड राखिएको थियो । विराटनगरको मोरङ क्याम्पसमा अधिकारीले अध्यापन समेत गरेका थिए । नेता अधिकारी पञ्चायतको विरोधमा संघर्ष गर्दा विराटनगरकै जेलमा बन्दी समेत बने ।

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि उनले सोभियत संघमा पिएचडी पढ्न पाएको छात्रवृत्ति त्यागेर सक्रिय राजनैतिक संघर्ष रोजेका थिए ।

नेता अधिकारीले २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा बाम मोर्चा गठनमा सक्रिय रुपमा भूमिका समेत खेलेका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण भएपछि पञ्चायत विरुद्धको आन्दोलन सफल भएको थियो ।

तत्कालिन नेकपा एमालेको पाँचौँ, छैटौँ, सातौं र आठौं महाधिवेशनमा उनी मूल आयोजक समितिको संयोजक थिए भने छैटौँ, सातौँ र आठौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित भएका थिए । नेता अधिकारी राजनीतिमा ५० वर्षभन्दा बढी समय केन्द्रीय तहको नेतृत्वको भूमिका निर्वाह गरे । २०७१ को महाधिबेशनबाट अधिकारीले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेर फेरी उदाहरणीय नेता बनेका थिए ।

उनको नेपालमा औद्योगिकरणको समस्या, मेरो जीवन यात्रा भाग–२, संसददेखि संविधानसभासम्म पुस्तक प्रकाशित छन् भने जनताको बहुदलिय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिँदा उनी उपप्रधानमन्त्रीकै अवस्थामा पक्राउ परेर तीन महिना नजरबन्दमा परेका थिए ।

नेता अधिकारी ‘नेपाल अधिराज्यको संविधान २०४७’ को संविधान सुझाव आयोगका सदस्य समेत थिए । त्यस्तै ‘नेपालको संविधान २०७२’ जारी गर्दा संविधानसभाको मस्यौदा लेखन समितिमा बसेर काम गरेका थिए ।

अधिकारीले राजनीतिक जीवनबाट सन्यास लिइसकेपछि निधन भयो । आगामी दिनमो उनको भूमिका सायदै हुँदैनथ्यो होला । तर विगतमा उनले खेलेका भूमिका अनुकरणीय छन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार  ६ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।