गायिका एलीना चौहानले आफ्नो विगतलाई बारम्बार कोट्याएर समाचार तथा सामग्री प्रकाशन नगर्न सञ्चारकर्मी तथा मिडियाकर्मीलाई आग्रह गरेकी छन्। उनले विगतका घटना, सम्बन्ध र पुराना तस्बिरलाई अहिलेको आफ्नो परिचयसँग जोडेर प्रस्तुत गर्दा आफूलाई मानसिक रूपमा पीडा हुने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चौहानले आफू विगत बिर्सेर जीवनमा धेरै अगाडि बढिसकेको उल्लेख गरेकी छन्। आफूले विगतका पीडालाई नराम्रो सपनाजस्तै सम्झेर छाडिसकेको भए पनि सञ्चारमाध्यममा पटक–पटक त्यही विषय दोहोरिँदा पुराना घाउ पुनः बल्झिने उनको भनाइ छ।
‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्,’ उनले सञ्चारकर्मीलाई आग्रह गरेकी छन्।
उनले आफ्नो विगतलाई जीवनको एउटा अध्यायका रूपमा स्वीकार गरे पनि त्यसलाई सम्पूर्ण जीवनको परिचय बनाउन नहुने बताएकी छन्। पुराना घटना र सम्बन्धलाई बारम्बार समाचारको विषय बनाउँदा आफ्नो वर्तमान जीवन र पहिचान ओझेलमा पर्ने उनको भनाइ छ।
चौहानले आफूलाई पहिचान बनाउन कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको पनि स्पष्ट पारेकी छन्। उनले उक्त धारणा घमण्डका रूपमा नभई आत्मविश्वासका साथ व्यक्त गरेको बताएकी छन्।
‘मेरो विगतसँग जोडिएका कुनै नाम वा सम्बन्धलाई बारम्बार निकालेर मेरो आजको परिचय बनाइदिन आवश्यक छैन,’ उनले भनेकी छन्।
चौहानले भ्रामक तथा आफ्नो आत्मसम्मानमा आँच पुर्याउने समाचार तथा सामग्री प्रकाशन र प्रसारण भइरहे त्यसविरुद्ध कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्। उनले त्यस्ता सामग्री फैलाउने मिडिया तथा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउने बताएकी हुन्।
आफ्नो विगतको अध्याय बन्द गरेर वर्तमानमा अघि बढ्न चाहेको उल्लेख गर्दै चौहानले सञ्चारमाध्यमलाई पनि आफ्नो आग्रह बुझिदिन अनुरोध गरेकी छन्।



















प्रतिक्रिया