Logo

प्रमुख समाचार

विशेष महाधिवेशनका रणनीतिकार अब कांग्रेस सहमहामन्त्रीको दावेदार



काठमाडौं । राजनीतिमा विचार र निष्ठाको परीक्षा सजिलो समयमा हुँदैन, संकटको बेला हुन्छ । देशमा जब बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने हिंसात्मक द्वन्द्व उत्कर्षमा थियो । तब मनोजमणी आचार्यहरु माओवादी द्धन्द्धबाट पीडित भइरहेका थिए । विस्थापित भइरहेका थिए । तर, राजनीतिमा सम्झौता गर्न नमान्ने मनोमणीहरु आफ्नो गाउँ र थलो छाड्न बाध्य भइरहेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पाको प्रतिकूल भूगोल र राजनीतिक वातावरणबाट उदाएका मनोजमणी आज नेपाली कांग्रेसको राजनीतिमा आशालाग्दा र खारिएका युवा नेताका रूपमा परिचित छन् । द्वन्द्वकालमा विस्थापित हुनुपर्दाको पीडा, काठमाडौँमा विस्थापित नेता कार्यकर्तालाई जोड्नु कमकठिन र चुनौतिपूर्ण थिएन । तर उनी डगमगाएनन । निरन्तर राजनीतिक यात्रामा लम्किरहे ।

तमाम आरोह अवरोह पार गर्दै उनी अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रोल्पाबाटै महाधिवेशन प्रतिनिधि चुनिएका छन् र, आफ्नो जन्मभूमिको धरातलबाटै केन्द्रीय सहमहामन्त्री पदको उम्मेदवारी घोषणा गरेका छन । माओवादी प्रभावित क्षेत्रबाट उदाएका एक वैचारिक र संघर्षशील युवाको यो उम्मेदवारीले कांग्रेसभित्र मात्र नभई राष्ट्रिय राजनीतिमै विशेष राजनीतिक अर्थ बोकेको छ । अनि, नेविसंघको महामन्त्री भएर लाखौँ विद्यार्थीको नेतृत्व गर्दाको अनुभव र कांग्रेसको विशेष महाधिवेशनमा खेलेको रणनीतिक भूमिका आचार्यको राजनीतिक यात्रा तथा उम्मेद्वारीलाई पुष्टि गरेको छ ।

द्वन्द्वको घाउँ र विचारप्रतिको निष्ठा

माओवादी द्वन्द्व उत्कर्षमा छँदा रोल्पामा नेपाली कांग्रेस हुनु आफैँमा जोखिमपूर्ण कार्य थियो । गाउँमा बस्न सक्ने अवस्था नभएपछि विचारकै आधारमा मनोजमणी विस्थापित हुन पुगे । आफ्नै घर आँगन फर्कन सम्भव नभए पनि उनले राजनीतिक यात्रा र आस्था कहिल्यै त्यागेनन् ।

काठमाडौँ आएपछि उनले केवल आफ्नो मात्र राजनीतिक भविष्य खोजेनन् । देशैभरिबाट माओवादी हिंसाका कारण विस्थापित भएर राजधानी आइपुगेका सयौँ कांग्रेसी नेता तथा कार्यकर्ताको दुःखसुखको साथी बने । उनीहरूको राहत, गाँस बास र राजनीतिक अभिभावकत्वका लागि उनले निरन्तर सहयोग गरिरहे । द्वन्द्वको त्यो कठिन समयमा पनि उनले देखाएको यो व्यवहार र निस्वार्थताले उनलाई देशभरका कार्यकतौ माँझ लोकप्रिय बनायो ।

नेविसंघको राजनीति र शिक्षा सुधारको नेतृत्व

क्याम्पसको राजनीतिबाट उदाएका मनोजमणी नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय महामन्त्रीसम्म पुगे । महामन्त्रीका रूपमा उनले देशभरका लाखौँ विद्यार्थीको सफल नेतृत्व गरे । उनको कार्यकालमा विद्यार्थी अधिकार, शिक्षा क्षेत्रमा व्याप्त बेथिति विरुद्धका आन्दोलन र शैक्षिक सुधारका विषयमा उल्लेख्य कामहरूको अगुवाई गरेका थिए । विद्यार्थी वर्गका वास्तविक मुद्दालाई सडक र नीतिका तहमा उठाउन उनले अग्रणी भूमिका खेलेका थिए । नेविसंघको यही कुशल नेतृत्वले उनलाई वैचारिक र सांगठनिक रूपमा परिपक्व बनायो ।

विशेष महाधिवेशनका पर्दापछाडिका रणनीतिकार

नेविसंघको राजनीतिपछि पार्टी राजनीतिमा सक्रिय आचार्यले नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नीति र रणनीति निर्माणदेखि लिएर देशभर संगठन विस्तार गर्नेसम्म उनी अहोरात्र खटिए ।

विशेष महाधिवेशन आयोजक समितिको सचिवालय संयोजक बनेर काम गर्दा उनले आफ्नो व्यवस्थापकीय र सांगठनिक क्षमता प्रदर्शन गरेर नेतृत्वदायी भूमिका निर्वाह गरे । त्यतिबेला उनका साथीभाइ र समर्थकहरूले उनलाई पार्टीको ममत्वपूर्ण पदको जिम्मेवारी लिन आग्रह गरेका थिए । तर, उनले व्यक्तिगत पदभन्दा पनि नयाँ साथीहरू र युवाहरूलाई स्थान दिनुपर्छ भन्ने उदारता देखाउँदै पछाडि बसेर अभिभावकीय भूमिका निर्वाह गरे । पदको लोभ नगरी पार्टीलाई सशक्त र प्रभावकारी बनाउने कार्यको नेतृत्व भने उनले निरन्तर गरिरहेछन् ।

१५औँ महाधिवेशन र सहमहामन्त्रीको उम्मेदवारी

मिजासिला, मिलनसार र सरल मनोजमणी आचार्य वैचारिक तथा सैद्धान्तिक कुरामा कहिल्यै सम्झौता गरेनन । उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, कांग्रेसलाई पुनः बिपी कोइरालाको विचार र पथमा फर्काउन, पार्टीलाई नयाँ ऊर्जाका साथ सशक्त बनाउन र देशभरका कार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्न मैले सहमहामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।

राजनीतिक रूपमा खारिएका, सैद्धान्तिक स्पष्टता भएका र सादा जीवनशैली अपनाउने आचार्य जस्ता युवा नेता नेपाली कांग्रेसको माथिल्लो नेतृत्वमा पुग्नु पार्टीका लागि सुखद विषय हो । देशभरका साथीहरूको सुखदुःखमा सधैँ उभिने व्यवहारवादी नेताका रूपमा परिचित मनोजमणीको नेतृत्वले नेपाली कांग्रेसलाई केवल चुनाव जित्ने संयन्त्र मात्र नभई विचार र कार्यकर्ताको सम्मान गर्ने जीवन्त दल बनाउन ठूलो योगदान पु‍र्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।