यतिबेला नेकपामा गाली पर्व चलेको छ । गएको भदौ अन्तिममा यो दलका यी नेता बीच यस्तो मिलापत्र भएको बताइएको थियो जसको उदाहरण कतै थिएन । तर त्यो पुस महिनामै फासफुस भयो ।
दुइ तिहाइ हाराहारीको नेकपा र त्यसका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरिदिए, आफना पार्टीका शीर्षनेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरुलाई कारण देखाएर । त्यसपछि यो पार्टीको नेतृत्वको एउटा पक्ष विघटनको बचाउ र अर्को पक्ष संसद पुन स्थापनाको लडाइमा छन् ।
यही क्रममा नेकपामा गालीपर्व सुरुभएको अवस्था छ । गाली पनि कस्तो भने सुन्दै पनि झसंग हुनेखालको । त्यसमा प्रधानमन्त्री आफै भएजति त्यस्ता शव्दहरु र आरोपहरु लिएर मैदानमा उत्रिएका छन् जुन सुन्दा मात्रै पनि देशको कार्यकारी प्रमुख यति हदसम्म ओर्लिन सक्तछन भन्ने लाग्छ । अरुले पनि यसको जवाफ दिइरहेका छन् तर यो प्रतिश्पर्धामा प्रधानमन्त्री माथि देखिए यो बेलासम्म ।
राजनीति आफनो ठाउँमा होला तर त्यही राजनीतिमा लागका सहकर्मीहरुमाथि सहकर्मी यस्तो लाञ्छना लाग्छ स्वाभाविक छ यो दलका नाममा कस्ता मान्छेलाई नागरिकले विश्वास गरेछन भन्ने प्रश्न उठछ नै ।
‘मैले धेरै वर्षअघि भनेको थिएँ, गोरु नांगै देख्दा मलाई लाज लाग्दैन ।’ प्रधानमन्त्रीको यो भनाइको अर्थ के होला ? परिवार संग बसेर यो उदाहरण कोट्याउन सकिन्छ ? अर्को, उहाँहरूको आन्दोलन सिसीमा औषधि बेच्नेले रत्नपार्कमा मान्छे जम्मा गरेजस्तै भन्ने कुराले वताउने केहो ?
उनी यतिसम्म भन्छन्, ‘पोहोर म बिरामी परेँ, मरिहाल्छ भने । बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भने । तर, म प्लेनको सिटमै फर्किएँ। अस्ति अप्रेसन भयो, इन्फेक्सन हुन्छ,अब गयो भने । उहाँहरूले भविष्यवाणी हुने खालको गर्नै हुन्न । म मर्न त मर्छु, उहाँहरूको आकांक्षा पूरा हुन्छ, अगाडि पछाडि कहिले कसको टुंगो हुँदैन । सत्य हो मर्छु । तर, मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने सभ्यता राम्रो हैन ।’
मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने सभ्यता राम्रो हैन भन्ने प्रधानमन्त्रीले आफुलाई छिटै मरोस् भनी उनीहरुले कल्पना गरेको भन्ने कुराको कल्पना कसरी गरे होलान् भन्ने कुराको अध्ययन हुनुपर्छ वा हुन बाँकी छ ।
यो हप्ता सत्तारुढ दल नेकपाका प्रथम प्रधानमन्त्री ओलीले काठमाण्डौको बबरमहलस्थित एउटा पार्टी प्यालेस र प्रज्ञाभवनमा दुईदिनका बीचमा भाषण गर्दै जसजसका बारे जेजे भने त्यो सुन्दैमा नमीठो लाग्ने खालको थियो, देशको यो तहको पदाधिारीको मुखबाट यस्तो कुरा आउँदा । ओली यो बेला कामचलाउ नै भएपनि यो देशका कार्यकारी प्रमुख हुन् ।
उनी भन्दा माथि यो देशमा कार्यकारी अर्थात काम गर्नेतहको अरुकुनै पदाधिकारी छैन । त्यस्तो व्यक्ति, पदाधिकारीले आफना एक महिना अघिसम्म सहकार्यमा रहेका व्यक्ति, आफनो पार्टीका पदाधिकारी र देशका मर्यादित संस्थाहरुले गर्ने कामका बारे प्रगोग गरेका शव्दा वा भनाई समाजमा कहानेर स्थापित होलान भन्ने आफै एउटा प्रश्न बन्ला । तिनैकै केही नमूना एकदिनको कुरा – प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा पुस १८, बृहत कार्यकर्ता भेला –
एक :
‘एकपटक चार्ली च्याप्लिनको क्यारिकेचर गर्ने प्रतिस्पर्धा भएछ । केही प्रतिस्पर्धीमध्ये चारजना फाइनल राउन्डमा गए । तर, भाग लिएको चार्ली च्याप्लिन नै फाइनलमा परेनछ । ऊचाहिँ होइन, अर्कोचाहिँ ठहरियो । हाम्रो अदालत यसैगरी चार्ली च्याप्लिन कुन हो भनेर छुट्याउनै नसक्ने अवस्थामा छैन, जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल, अनुहार हेरेर चिन्छ । कुम हल्लाएकोबाट चिन्छ, अनेक हिसाबले चिन्छ । चार्ली च्याप्लिन चिन्ने कुरामा हाम्रो निर्वाचन आयोग, न्याय निरुपण गर्ने अदालतले गल्ती गर्दैन । ’
दुई :
‘उहाँहरुले बहुमत छ भन्दै हुनुहुन्छ । गफै त हो सम्धी ! कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ! दाबी पनि कस्तो ? रेस्लिङ खेलमा पहिले पनि देखिन्छ । खेल्न कहिले हो कहिले लगाउने कुरा पहिले नै खोजेर लगाउँछन् । रिङमा पुगेर मुक्का खाएपछि थाहा पाउँछ । हाम्रा कमरेडहरुले पनि पहिले नै माला लगाउन खोज्ने ? कुन कार्यकर्ताले दियो बहुमत ? तपाईंहरुले भोट हाल्नुहुन्छ ? तपाईहरुले गल्ती गरेर उनीहरुलाई भोट हाल्नुहुन्छ । बहुमत घरमा भन्या हो ?’
तीन :
‘एउटा चोर घरभित्र पसेछ । अध्याँरामा भाँडो ट्याङ्ङ ठोक्किएछ । भाँडा ठोक्किएपछि घरवालाले चोर आयो कि क्या हो भनेछ ? चोरले म्याउँ गरेछ । ए, बिरालो पो रहेछ भनेछ घरवाला चुप लागेछन् । तर त्यसपछि अध्याँरोमा चोरले थुप्रै भाँडाहरु एकै पटक ढालेछ । घरवालाले लाइट बालेर हेर्दा बिरालो नभएर ढाडे अर्थात चोर देखिएछ । त्यसको गति के भयो होला त्यो तपाईँ बिचार गर्नुहोस् ।’
चार :
‘पद चाहियो भन्ने अनि चुनावमा जुन पदमा हार्यो, त्यही लिन खोज्ने ? मैले दुई वटा बच्चा देखेको थिएँ । एउटा बच्चाले एउटा राम्रो गुडिया बोकेर आयो । अर्को बच्चाले गुडिया एक छिन मलाई खेलाउन देऊ भने । अर्कोले एकछिन आफ्नो हातमा भएको गुडिया अर्को बच्चालाई दिए । एकछिन दुवै जना मिलेर गुडिया खेलाए पनि तर एकपछि अर्को बच्चाको गुडिया मेरो हो भन्न थाले एक बच्चाले । कस्तो प्रचण्डको डुब्लिकेट ! एकता के गरिएको थियो, एकैछिन कार्यकारी अध्यक्ष के दिइएको थियो, पार्टी मेरै हो भन्न थाले !’
पाँच :
‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ । उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर । बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई ? हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ ? निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन ।’
छ :
‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने ? संविधानसम्मत ढंगले, विधानसम्मत ढंगले, कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । अब भेट्नु कुहिएर झरेका दुईवटा फलहरूले रूखै मै हुँ भनेर दाबी गर्ने ? हामीले उहाँहरूलाई बैठकमा निमन्त्रणा गरिरहेका छौँ, अध्यक्ष र वरिष्ठ नेतामा राखिरहेका छौँ, कुनै हतारो गरिरहेका छैनौँ, अझै सम्झाउन खोजिरहेका छौँ ।’
सात :
‘पेरिसडाँडाको पत्रकार सम्मेलनबाट यति गते यहाँ जाने, यो भेला गर्ने, सर्वदलीय भेला, बैठक, प्रदेशस्तरीय भेला भनिँदै छ, अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले रत्नपार्कमा पनि जम्मा गर्छ, उहाँहरूको हालत अब त्योभन्दा बढी हुनेवाला छैन, किनभने उहाँहरूसँग देश, जनता, विकास, लोकतन्त्र, संविधानको रक्षाजस्ता कुनै राजनीतिक एजेन्डा छैन ।’
आठ :
‘माथिका नेताहरूको ध्यान जम्माजम्मी कुर्ची र पदमा छ, पद चाहएको थियो भने त यता (बालुवाटार बैठकतिर) आउनुपथ्र्यो, तर कार्की बैंक्वेटतिर भेला हुनुभएछ । सुन्तला खानु छ भने त सुन्तलाघारी जानुपर्छ, सल्लाघारीतिर किन जाने ?’
नौ :
‘अस्ति हाम्रो पार्टी (बैठक)मा उपस्थित नभएर हराएका मान्छेहरूले एउटा सभा गरेछन । त्यहाँ एकाथरीले एउटा, अर्कोथरीले अर्को नारा लगाए, त्यहीँ ठाकठुक पर्न थाल्यो । दुईवटा दर्सिनढुंगा ठोक्किएजस्तो झलाकझुलक भयो, अहिले नै यस्तो छ उहाँहरूको, भर्खर सुरु हुँदै छ उहाँहरूको हालत, झुलो–चकमक ठोक्किएजस्तो ।’
दश :
‘कार्की बैंक्वेटमा गएर केपी ओलीलाई निकालेको घोषणा गरेर निर्वाचन आयोगमा पत्र पठाउनुभएछ, पत्र हेरेपछि आयोगका आयुक्तज्यूहरू कति दिन हाँस्नुभो मलाई थाहा छैन । जसको कटेरो उसको पुच्छर बाहिर भनेजस्तो ।’
एघार :
‘तीन वर्षसम्म एकता पूरा हुन दिइएन, एउटा बैठक तीनवटा गुट, दुईवटा गुटको एउटा समीकरण, सधैँको झमेला, पार्टी पार्टी नै रहेन, त्यो स्थितिमा उहाँहरूले पुर्याउनुभो । तेज तरार कार्यकर्तालाई अलमलमा राखेर शिथिलतामा पुर्याइयो, अहिले समस्या कहाँनेर रहेछ, जाम कहाँ भएको रहेछ, खिया कहाँ लागेको रहेछ । दुईवटा नटबल्ट फेर्दाखेरि गाडी बढ्यो, खिया लागेको दुईवटा नटबोल्ट के फुक्लिएको थियो पार्टी गतिका साथ अगाडि गयो ।’
बाह्र :
‘उहाँहरू एकदमै ठूला कुरा गरेर हिँडिरहनुभएको छ, प्रत्यक्षमा एक सय ६५ सिट आउँछ । अहिले धेरै नभनुँ, धेरै भन्दा हच्किने, तर्सिने खतरा हुन्छ । थोरै भन्दै छु, कमसेकम दुईवटा अंक भएको सिटसम्म जितेर देखाउनुस । तर, त्यो स्थितिमा उहाँहरू पुग्नुहुन्न, छनक पाइसक्नुभो, उहाँहरूले, उहाँहरूलाई ठाउँ राखेको छ, केन्द्रीय कमिटीमा तर फेरि फर्किएर उपद्रो मच्चाउन पाइँदैन, अब फर्किंदा थान्कोमा राखिनेछ । व्यक्ति फर्किए पनि प्रवृत्ति फर्किन दिइनेछैन, गुटबन्दी फर्किन दिनेछैन ।’
तेह्र :
‘यो मान्छेले नेतृत्व गरिरहन पायो भने त देश सर्लक्कै परिवर्तन भएर अरूले त केही कुरै गर्न नपाउने हो कि भन्ने परेर केही मान्छेको मन भतभती पोल्यो । केही मान्छे छटपटिए, छिर्के लगाउन खोजे, लाग्दैन, अल्झाउन खोजे, अल्झिँदैन । रोक्न खोज्दा रोकिँदैन ।
अनि अस्तव्यस्तता सिर्जना गर्ने, गालमुखाल गरेर मुख छोडेर हिँड्ने, उनीहरूको जुलुसका नारा सुन्नुभयो होला, कठै ! मैले धेरै वर्षअघि भनेको थिएँ, गोरु नांगै देख्दा मलाई लाज लाग्दैन । उहाँहरूले आफैँले सामाजिक मर्यादा, सामाजिक प्राणी हुनुको नाताले मानवीय सभ्यता र मर्यादामा ख्याल गरे हुन्थ्यो । उहाँहरूका कृत्यहरूले देख्नेहरूलाई धेरै लाज भइसक्यो ।’ (बाँकी दोस्रो भागमा)
प्रतिक्रिया