प्रदेश १ को राजधानी विराटनगरमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सुरू गरिएको छ । प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएपछि विषादी परीक्षण सुरु गरिएको भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयले जनाएको छ ।
विषादी अवशेष परीक्षण द्रुत प्रयोगशाला इकाइको स्थापना गरेर सोमबारबाट परीक्षण सुरू गरिएको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए । उनले भने,‘‘बाली संरक्षण प्रयोगशाला मातहतमा रहने गरी विषादी परीक्षण प्रयोगशाला इकाइ स्थापना गरिएको हो ।’’
प्रयोगशाला स्थापना भएसँगै मन्त्रालयले किसान र उपभोक्ताले विषादी परीक्षण गर्न सक्ने बताए । बाली संरक्षण अधिकृत मुकेश यादवका अनुसार प्रयोगशालामा आवश्यक सामग्रीको व्यवस्थापन मिलाइएको छ ।
उनले भने,‘‘बजारमा भित्रिएका तरकारी तथा फलफूलको नमूना संकलन गरेर परीक्षण अध्ययन भइरहेको छ ।’’ उपभोक्ताले बजारका तरकारी तथा फलफूलको विषयमा शंका लागे प्रयोगशालामा ल्याएर परीक्षण गर्न सक्ने बताए ।
मन्त्रालयका सचिव विष्टले धरानमासमेत आगामी असोजसम्ममा विषादी परीक्षण प्रयोगशाला इकाइ स्थापना गरिसक्ने सरकारको योजना रहेको बताए । विराटनगर भारतबाट आयात हुने तरकारीको खपत हुने क्षेत्र हो । प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा प्रयोगशाला स्थापना भएको हो ।




















प्रतिक्रिया