संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ । त्यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ । त्यस दिनमात्र सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।
सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । त्यहाँ शुक्रबारको तथ्यांकअनुसार त्यहाँका करिब १ लाख ३२ जना नागरिक त कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा नै रहेका बताइएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी ९ करोड १० लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।
प्रकाशित मिति : २६ पुष २०७७, आईतवार १३:२१ : बजे
0
Shares
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया