सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए ।
नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए । नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।
यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।
बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह
यसैबीच प्रदेश नं १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु-याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।
शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरे ।
बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उनले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।
काठमाडौं उपत्यका नै बाढीको जोखिममा
नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ । राजधानी दैनिकमा खबर छ ।
गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ ।
डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयसमेत डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी यस वर्ष पनि जतिबेला पनि सहरमा पस्ने खतरा उस्तै छ । ललितपुरका केही क्षेत्र डुबानमा परेका छन् ।
बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विज्ञहरूले दाबी गरेका छन् । विपद्विद् मधुकर उपाध्याय खोलाखोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको बताउँछन् ।




















प्रतिक्रिया