Logo

लुम्बिनी प्रदेश

होटलमा बास बसेका युवक मृत भेटिए



होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन् । दाङको घोराहीमा रहेको बंगलाचुली गाउँपालिका ८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनी साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित शंकर होटेलमा घर्ती मृत फेला परेका हुन् ।

भारतको महाराष्ट्रबाट रोजगारी गरी फर्किंदै गरेका घर्तीसहित ६ जना शनिबार होटेलमा बास बस्न आएका थिए । अन्य चारजना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति पनि सँगै सुतेको प्रहरीले बताएको छ । बिहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यसैगरी, घोराहीमा एक युवामाथि खुकुरी प्रहार भएको छ । शनिबार बेलुका साढे ७ बजेतिर घोराही उपमहानगरपालिका १५ निवासी १८ वर्षीय त्रिशक्ति बर्तौलामाथि स्थानीय दुईजना युवाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । वडा(१५ कै ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीले सामान्य विवादका कारण खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते बर्तौलालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । घाइतेको टाउकोमा चोट रहे पनि अवस्था सामान्य रहेको पनि प्रहरीले बताएको छ । खुकुरी पहार गर्ने दुवैजना पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार ०९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।