Logo

आज टुँडिखेलबाट प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने



आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । 

संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र सुरक्षा निकायका प्रमुखहरु सहभागी हुदैछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी छ । दिवसका अवसरमा अहिले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले जनाएका छन् । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनेछन् । संविधान दिवसका अवसरमा विगत बर्षमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने गरेपनि यो पटक भिन्न हुने भएको छ । 

कोरोना नियन्त्रणमा सफलता मिलोस स् राष्ट्रपति 

संविधान दिवसका अवसरमा राष्ट्पति विद्यादेवी भण्डारीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश जारी गर्दै संविधानको मर्र्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिएकी छन् । राष्ट्पति भण्डारीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य  गर्दै  जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको जनाएकी छन् । 

‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।  जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको छ’, राष्ट्पति भण्डारीले शुभकामना दिदै भनेकी छन् ।  

उनले संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारहरूलाई सुनिश्चित गर्न विगत दुई वर्षमा तीनसयभन्दा बढी कानुनहरूको निर्माण भएको तथा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानुनहरूको कार्यान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको बताएकी छन् । ‘संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको म सराहना गर्दछु’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ । 

राष्ट्रपतिले आजको दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा गर्दै संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न सवैलाई आव्हान पनि गरेकी छन् ।  ‘यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्वान गर्दछु’, राष्ट्रपतिले आव्हन गरेकी छन् । त्यस्तै उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहना गर्दै त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छन् ।

संविधान गतिशिल दस्तावेज स् सभामुख सापकोटा 

सभामुख अग्नि सापकोटाले संविधान दिवस, २०७७ को अवसरमा शुभकामना व्यक्त गदै संविधानमा भएका व्यवस्था कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएकोले त्यसमा प्रभावकारी ढंगले लाग्नुपर्ने आवश्यकता औल्याएका छन् । संविधान दिवसको शुभकामना सन्देश जारी गर्दै सापकोटाले संविधान एउटा गतिशील दस्तावेज भएको भन्दै यही संविधान अनुसार देश संघीय प्रणालीमा गएको र यसले स्थानीय तह र प्रदेश तहको संवैधानिक व्यवस्था गरेको बताएका छन् ।

‘संघ, प्रदेश र स्थानीय तह बीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवादहरु सृजना हुन नदिन सचेत बन्नुपर्ने छ । संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाई भएको गुनासा सम्बोधन गर्नुपर्ने छ । कानुन बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु’, सभामुख सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।  

यसर्थमा मात्र संविधानको सार्थकता रहन्छ स् राष्ट्यिसभा अध्यक्ष तिमिल्सिना

राष्ट्यिसभा अध्यक्ष गणेश तिमिल्सिना संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ संविधानका आधारभूत विशेषताहरूको जगमा उभिएर नेपाली समाजमा रहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत विविध समस्याहरूको उपयुक्त समाधान गर्दै वास्तविक जनताको घरघरमा लोकतन्त्रको अनुभूति हुने गरी कार्यभार पूरा गर्न सक्नुपर्ने बताएका छन् ।

 उनले त्यसो गर्न नसकिए जे सुकै नाम दिए पनि त्यो जनताको लोकतन्त्र बन्न नसक्ने र  त्यो संविधान जनसंविधान पनि बन्न नसक्ने भन्दै मुलुकको नेतृत्व तथा शासन प्रतिनै जनताको अविश्वास बढेर जाने बताएका छन् ।

उनले सदियौदेखि समाजमा पछि पारिएका र परेका समुदायको जीवनमा सकारात्मक र वास्तविक परिवर्तनको अनुभूति हुने गरी आधारभूत तहसम्म लोकतन्त्रका लाभहरूको वितरण गर्न सकेमात्रै राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण राख्न, समाजमा दिगो शान्ति कायम गर्न र समाज रुपान्तरणको कार्यदेश पूरा गर्न सकिने विश्वास व्यक्त गरेका छन् । ‘यस अर्थमा मात्र नयाँ संविधानको सार्थकता रहन सक्छ’, अध्यक्ष तिमिल्सिनाले भनेका छन् । 

उनले नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  ८ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।