Logo

टिप्पणी

फरक महत्व बोकेका उम्मेदवारको परिक्षा



देश उपनिर्वाचनको संघारमा छ । चुनावी प्रचारप्रसार आज राति १२ बजेबाट बन्द हुनेछन् । त्यसपछि मौन अवधि शुरु हुन्छ । विविध कारणले खाली रहेका पदहरु यो उपचुनावबाट परिपूर्ति हुनेछन् ।

यसपटकको उपचुनावमा मान्नैपर्ने एउटा सत्य के हो भने सबैको नजर दिवंगत तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वाचित भएको कास्की क्षेत्र नंं २ मा केन्द्रित छ । त्यसैले होला, मुख्य पार्टीका शीर्षस्थ नेताहरु समेत कास्कीमै पुगेर एकअर्काप्रति तिखो वाण प्रहार गर्दै भाषणबाजी चलाएका छन् । यसले पनि यहाँको उपनिर्वाचनलाई कतिसम्म महत्वसाथ हेरिएको भन्ने पुष्टि गर्दछ ।

प्रभावशाली नेताको निधनपछि भएको खाली पदमा उनकै श्रीमती विद्याले विजयीको विरासत कायमै राख्ने दाउमा लागेकी छन् । पतिको उत्तराधिकारी सम्हाल्दै निर्वाचन लड्ने र जित्ने गरेका प्रशस्तै उदाहरण हाम्रै समाजमा छन् । निर्वाचन जित्ने मात्रै होइन, श्रीमानको बिरासत थाम्न राजनीतिमा होमिएका नेतृ आज राष्ट्रको सर्वोच्च पद (राष्ट्रपति)मा बिराजमान छिन् । यसले भावनात्मक मत बटुल्ने प्रशस्त आधार र कारणलाई देखाउँछ ।

यसअघिका निर्वाचन वा उपनिर्वाचनभन्दा अहिलेको उपनिर्वाचन नितान्त फरक छ । श्रीमानको निधनपछि श्रीमतीले सेतो सारी लगाउने आमपरम्परा नेपाली समाजमा विद्यमान छ । भावनात्मक मत बटुल्न सेतो सारीको प्रभाव बलियो रहने बिश्वास गरिन्छ ।

तर कम्युनिस्ट नेता कार्याकर्ताको पृष्ठभूमि अलि अलग छ । उनीहरु सामन्ती संस्कृतिको पक्षपोषण गर्दैनन् । कास्की उपनिर्वाचन क्रममा पनि यो विषय पेचिलो रुपमा अगाडि आएको छ । खासगरी श्रीमानको मृत्युपश्चात् सेतो सारी नलगाउनु नै सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई चुनौती बन्न सक्ने ठान्नेहरु कम छैनन् । अहिलेसम्म सेतो सारीले हार खेप्नु परेको इतिहास देख्दैनन् उनीहरु । विद्या भण्डारी, यदु देवकोटाकी श्रीमती, धर्मशिला चापागाँई, कमला शर्माले श्रीमानको निधनपछिको निर्वाचन या उपनिर्वाचनमा विजयीको टीका लगाएको इतिहास साक्षी छ । सबैजना सेतो साडीमा चुनावी मैदानमा होमिएकी पनि यथार्थ हो ।

कांग्रेसको सम्भावना कति ?

कास्की–२ को उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ नेकपाकै मुख्य प्रतिस्पर्धा रहेको कुरा यथार्थ छ । गुटबन्दी र आन्तरिक भद्रगोलले शिथिल भएको कांग्रेस उपनिर्वाचन जितेर गुट अन्त्यको सन्देश दिने ध्याउन्नमा छ ।

उम्मेदवारी निर्धारणकै लागि मनोनयनको अन्तिम समय कुर्ने कांग्रेसले यसपटक पनि यो परम्पराको अन्त्य हुन दिएन । तर पनि सधैं अन्तरघातको शिकार हुने गरेको नेपाली कांग्रेस यसपटक भने कास्की–२ को उम्मेदवार छनौटमा निकै सचेत देखिएको छ ।

कास्की कांग्रेसभित्र गुरुको छवि बनाएका पौडेललाई उम्मेदवार बनाएर अन्तरघात हुने सम्भावनालाई कम गरेको छ । अहिलेसम्म कुनै लाभको पद नलिएका त्यागी र इमानदार नेताको छवि बनाएका उनको उम्मेदवारीले कास्की कांग्रेसमा नयाँ उत्साहको सञ्चार गरेको कार्यकर्ताहरु दाबी गर्छन् ।

दुईतिहाई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जन अपेक्षा अनुरुप काम गर्न नसकेको अवस्थामा सत्तारुढ दलप्रतिको असन्तुष्टीलाई आफ्नो पक्षमा पार्ने दाउमा छ । चुनावी सभा र नेताहरुको भाषाणबाजीले पनि त्यतै संकेत गर्छ । ईमानदार छवि बनाएका खमराज पौडेलले यसपटक बाजी मार्ने लगभग तय छ ।

उपनिर्वाचनको नतिजाले के असर गर्छ ?

अहिले हुन लागेको उपनिर्वाचनले सरकार निर्माण वा सरकार परिवर्तनमा खासै असर नगरेपनी उपनिर्वाचनले जनताको रुझान भने स्पष्ट हुनेछ । यदि प्रतिपक्षी दल नेपाली कांग्रेसले बाजी मारेमा यसले उर्जाहीन बन्दै गएको कांग्रेसलाई नयाँ उर्जा प्रवाह हुनेछ भने अर्को्तिर सत्तारुढ नेकपालाई ठूलो धक्का लाग्ने निश्चित छ ।

खासगरी मिडिया र बौद्धिक वर्गले नेकपा नेतृत्वको वर्तमान सरकारको भविष्यलाई लिएर प्रश्न उठ्न सुरु हुन्छ । यो उपनिर्वाचन यसकारण पनि महत्वपूर्ण छ कि पार्टी एकतापछि सत्तारूढ पार्टीको एकतापछि पहिलोपटक निर्वाचनमा भाग लिदैंछ । यसले पनि दुई पार्टी एकीकरणयता पहिलोपटक जनमत लिनुका साथै सरकारप्रति जनताको रुझान पनि स्पष्ट हुने नै छ ।

यदि उपनिर्वाचनमा नेकपाको पराजय भयो भने त्यसले नेकपाभित्र नयाँ विवादको बिजारोपण गराउनेछ । पूर्व दुई पार्टीभित्र एकले अर्कोलाई दोषारोपण गर्ने श्रृखला सुरु हुनेछ । यसले पनि अहिले हुन लागेको उपनिर्वाचन निकै चासोसाथ हेरिएको छ । मंसिर १४ ले नै सेतो साडी र रातो साडीको सामाजिक प्रभावलाई प्रष्ट पार्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ११:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।