संयोग यस्तो जुर्यो कि देवीप्रसाद सिवाकोटीसँगै पर्खिएर बसिरहेकाहरूका लागि भनेर खाना बोकेको ‘हाम्रो टिम नेपाल’ को गाडी खुलामञ्चमा र गाँस–बासलाई मौलिक हकमा राखिएको संविधानको छैटौं वार्षिकोत्सव मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी सैनिक मञ्चमा सँगसँगै छिरे ।
यता गाँसका लागि आँखा बिछ्याएकाहरू लस्करै बस्दा उता सैनिक मञ्चमा बजेको सलामीको धुन गुन्जियो । सेनाको कलाकौशलसहितको धुनले भनिरहेको थियो, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’
त्यसको केहीबेरमा संविधान दिवसको ब्यानर बोकेर फन्का मारेको हेलिकप्टरले सिवाकोटीजस्तै खानाका लागि खुलामञ्चमा भेला भएकाहरूको ध्यान खिच्यो । नजिकै बजिरहेका गाडीका हर्नसमेत फिक्का सुनिने गरी हेलिकप्टरको आवाज आयो । उनले निधारमा हातको छेको पारेर उडिरहेको हेलिकप्टरतिरै हेरे र झुन्डिएको ब्यानरका अक्षरमा आँखा दौडाए ।
‘त्यहाँ लेखेको अक्षर पढ्न सक्नुभयो ?’
‘किन नसक्नु त्यति ठूला अक्षर छन्,’ हाम्रो प्रश्नमा उनले भने, ‘संविधान दिवस २०७७ ।’
उनले थपे, ‘संविधान बनाउनेको मन पो सानो छ त !
संविधान दिवस सम्झाउन ब्यानर र पुष्पवृष्टि गर्न फूलका थुँगाहरू बोकेर उडेका हेलिकप्टर टुँडिखेलको आकाशबाट बिस्तारै ओझेल पर्दै गए, दुई दिनअघिबाट मात्रै चल्न थालेका गाडीका हर्न फेरि बज्न थाले । दोलखा सिंगटीका ६० वर्षीय सिवाकोटीको मन भने विगतको सम्झनाले बेस्सरी हुँडल्यो ।
त्यसपछि हामीले उनलाई केही सोध्नै परेन, पुराना स्मृतिमा खुरुरु दौडिए । २०४६ सालमा काठमाडौं छिरेका उनलाई त्यो बेलाको आन्दोलन हल्काफुल्का याद छ । तर २०६२र६३ को जनआन्दोलनमा भने उनी जमेरै लागे । पुतलीसडक र बागबजारमा धेरै पटक प्रहरीसँग जम्काभेट भयो । उनले बारम्बार आन्दोलनको भीडमा बर्सिएको इँटाको प्रहार सहँदै गणतन्त्रका लागि नारा लगाएका हुन् त्यतिखेर । उनी आन्दोलनमा होमिनुको मुख्य उद्देश्य गरिब र धनीबीचको खाल्डो पुर्नु थियो ।
२०७२ को संविधान जारी हुने बेलामा पनि सिवाकोटी खुब हौसिए । उनलाई आफूजस्तै मजदुरहरू सडकमा उत्रिएकै कारण गणतन्त्र आएको आभास भइरहन्थ्यो । परिवर्तित व्यवस्थाप्रति उनको अपनत्व थियो । त्यसैले त्यो दिन पनि उनले उत्सव मनाए । ‘गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुरलाई अझ धेरै फाइदा हुन्छ भनेकाले आन्दोलनमा गएको थिएँ,’ उनले भने, ‘अहिले त झन् बाटोमा आएर भात माग्नुपर्ने अवस्था आयो ।’ उनलाई संविधानले प्रत्याभूत गरेका अधिकारबारे सबै कुरा थाहा रहेछ तर संविधानमै लेखिएको कुरा पनि पूरा नभएकामा दुःखमनाउ गरे । यो समाचार स्टोरी आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया