Logo

लुम्बिनी प्रदेश

सेफ हाउसका लागि सामग्री हस्तान्तरण



हिंसापीडित महिला र बालबालिकाका लागि सञ्चालनमा आउन लागेको अल्पकालीन आवास गृह (सेफ हाउस) सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ स्थित कमलदह छेवैमा सञ्चालनमा आउन लागेको सेफ हाउसका लागि संयुक्त राष्ट्र संघीय जनसंख्या कोष युएनएफपीएले आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

सिस्ने गाउँपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रकोे समन्वय तथा युएनएफपिएको आर्थिक सहयोगमा सेफ आउस सञ्चालनमा ल्याउन लागेको सिस्ने गाउँपालिकाले जनाएको छ ।

युएनएफपीएका रुकुम (पूर्व) जिल्ला संयोजक भुवन सेजुवाल र सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक सदस्य त्रिलोचन घिमिरेले सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराललाई सेफ हाउस सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । सेफ हाउस सञ्चालनका लागि लत्ताकपडा, फर्निचर, खाद्यान्न तथा भान्साका सामग्री हस्तन्त्रण गरिएको छ ।

यी सबै सामान तीन लाख ११ हजार ९ सय ५० रुपैयाँ बराबरको रहेको संयोजक सेजुवालले बताए । हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनस्र्थापना नहुँदासम्म अल्पकालीन समयका लागि राखिने उद्देश्यले सेफ हाउस निर्माणको अवधारणा ल्याइएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

सेफ हाउस निर्माणका लागि संघीय सरकारबाट गत आर्थिक वर्षमा ३० लाख र यस वर्ष ३५ लाख गरी ६५ लाख बजेट विनियोजन गरिएको थियो ।

रुकुम (पूर्व)मा सुरक्षित अल्पकालीन आवासगृह (सेफ हाउस) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि यसअघि सम्पन्न भइसकेको छ । सेफ हाउस सञ्चालन कसरी गर्ने, क्षेत्राधिकार कति र काम गर्ने क्रममा आएका समस्याह?को समाधान कसरी गर्ने भन्ने विषयवस्तुमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी हुमा डिसीले गरेकी थिइन् । अभिमुखीकरण कार्यक्रममा सेफ हाउस सञ्चालनका लागि व्यवस्थापकीय पाटो कस्तो हुनुपर्छ र मनोविमर्शकर्ताको कस्तो भूमिका रहन्छ भन्ने विषयमा उनले अभिमुखीकरण कार्यक्रममा सहभागीलाई जानकारी गराएको बताइएको छ ।

यसैबीच सेफ हाउस सञ्चालनका लागि समन्वय समिति र निर्देशन समितिसमेत गठन गरिएको छ । सिस्ने गाउँपालिका अध्यक्ष बरालको अध्यक्षतामा ९ सदस्यीय समन्वय समिति गठन गरिएको छ भने सिस्ने गाउँपालिका अधिकृत चिन्तामणि दाहालको अध्यक्षतामा सात सदस्यीय निर्देशन समिति गठन गरिएको छ ।  रासस

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।