Logo

स्वास्थ्य

पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु



पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । 

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई जानकारी दिए । 

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’

यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।  हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  १२ : १० बजे