कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख २५ गतेसम्म गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौ उपत्यका सहितका पहाडी र हिमाली जिल्लामा लकडाउन क्रमश: खुकुलो पार्दै जाने रणनीतिमा सरकार लागेको छ ।
लगातारको लकडाउनका कारण नागरिकको जनजीवन अस्तव्यस्त बनेको भन्दै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नै लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरेको जनाइएको छ । यद्यपि लकडाउनको अवस्था कस्तो हुने भन्ने मोडालिटी उच्चस्तरीय समन्वय समितिले पेश गरिनसकेकाले अहिले नै यसै गर्ने भन्ने कुनै ठोस योजना भने बनिनसकेको जनाइएको छ ।
प्रदेश १ का केही पहाडी जिल्ला सहित तराईका अधिकांश जिल्लामा भने लकडाउन जारी रहनेछ त्यसका साथै भारतसँगको सिमानामा अझै कडाइ गर्ने सरकारको तयारी छ । आइतबारको मन्त्रीपरिषदको बैठकमा समेत लकडाउनको बिषयमा छलफल भएको समेत बुझिएको छ ।
आइतबार नै नेपालगञ्जमा देखिएको तेस्रो चरणको कोरोना संक्रमणले भने सरकार र नियमाक निकायलाई झस्काएकोले लकडाउन बिस्तारै खुकुलो गर्ने सरकारको रणनीतिमा धक्का लाग्ने सम्भावना पनि उत्तिकै छ । तर काठमाडौ उपत्यका सहित अधिकांश पहाडी तथा हिमाली जिल्लामा कोरोनाको कुनै सम्बन्ध नरहेको भन्दै अर्थ मन्त्रालयले भने अर्थतन्त्र जिवित राख्नका लागि समेत लकडाउन खोल्नुपर्ने निष्कर्ष निकालेको बुझिएको छ ।
स्वास्थ सम्बन्धि तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशलाई ग्रिन जोन, एलो जोन र रेड जोनमा विभाजन गरेर ग्रिन जोनमा पर्ने जिल्लामा आवश्यक सतर्कतासाथ लकडाउन हटाउने तयारी गरेको हो । यो सँगै एलो जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा मुख्य क्रीयाकलाप मात्रै खुल्ला गर्ने र संक्रमण नियन्त्रण बाहिर रहेका क्षेत्रमा भने लकडाउन यथावत राख्ने सरकारको तयारी छ ।
यो सँगै राजधानीका मुख्य सडकमा सवारीको चाप पनि बढेको छ भने पसल तथा बजार पनि अन्य दिनको तुलनामा खुल्ला हुँदै गैरहेको देखिएको छ । यसका साथै शहरका भित्री गल्ली तथा बजारमा लकडाउनको प्रभाव न्यून हुँदै गएको छ । त्यसका साथै मानिसहरूको चहलपहल पनि स्वभाविक रूपमा बढेको देखिएको छ ।
लगातारको लकडाउनको ४१ औं दिन पुग्दा लकडाउन क्रमश: खोल्दै जान सरकारलाई पनि दबाब परेको छ । यो सँगै जनताको जीवन रक्षालाई केन्दविन्दुमा राखेर कुनै पनि निर्णय गरिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका एक सदस्यले जानकारी दिए ।




















प्रतिक्रिया