कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै गरिएको लकडाउनको अवधि १० दिन थप गर्ने सरकारले तयारी गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसबारे अन्तिम निर्णय गर्ने अधिकार भने मन्त्रिपरिषद्लाई नै सुम्पेको छ ।
कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिएको र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लिएको लकडाउनको निति उपयुक्त भएको निष्कर्ष सहित अत्यावश्यक सेवा सुचारु गर्ने गरी लकडाउन थप्ने तयारी रहेको समितिका एक सदस्यले जानकारी दिए ।
उच्चस्तरीय समितिले ठ्याक्कै यति दिन भनेर सिफारिस नगरेतापनी १० दिन लकडाउन बढाउने अनौपचारिक तयारी रहेको बताइन्छ । बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले यसबारेमा औपचारिक निर्णय गर्ने छ । अहिले देशव्यापी रूपमा पुरानै अवस्थालाई निरन्तरता दिंदै लकडाउन थप गर्ने सरकारको तयारी छ ।
यसअघि कोरोना संक्रमणलाई मध्यनजर गर्दै देशलाई अति उच्च जोखिम, जोखिम र कम जोखिमका क्षेत्र पहिचान गरि त्यसैको आधारमा लकडाउनको मोडालिटी तयार गरी कार्यान्वयन गर्न सरकारले गृहकार्य थालेको बताइएको थियो ।




















प्रतिक्रिया