Logo

प्रमुख समाचार

नेपालमा कोरोनाको संक्रमण भयावह हुन सक्छ, सजग हुनु जरुरी छः प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै चालिएको सुरक्षाका प्रभावकारी कदमका कारण अहिलेसम्म नेपालमा कोरोना भाइरसले महामारी रूप लिन नसकेको भए पनि पछिल्लो समय स्थिति बिग्रिँदै गएको बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा बिहीबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पनि कोरोना महामारी भयावह रूप लिने लक्षण देखिएकाले सजगता अपनाउन सबै नागरिकलाई आह्वान गरेका हुन् ।

बुधबारसम्म नेपालमा कोरोनाबाट ९९ जना संक्रमित भइसकेका छन्। तर तीमध्ये १९ जना संक्रमणमुक्त भइसकेका छन् । यसअघि निको हुनेको संख्या २२ पुगेको भए पनि तीन जनामा पुनः कोरोना पोजिटिभ देखिएपछि यो संख्या केही घटेको हो ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन् । तर भयावह हुन सक्ने लक्षण देखिएका छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ। त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

विश्वमा कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु हुने क्रम बढ्दै गएकाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ज्यान गुमाएका सबैप्रति श्रद्धासुमन प्रकट गरेका छन् भने बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।