कोरोना भाइरसको संक्रमण फैलिंदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या थपिंदै गएपछि सरकार लकडाउन खुकुलो बनाउने पूर्वतयारी बाट पछि हटेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका एक सदस्यका अनुसार असारबाट मात्रै नयाँ मोडालिटी बारेमा विचार गर्ने तयारी गरेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने भएकोले अप्ठ्यारो परिस्थिति बन्दै गएको छ । असारमा कृषकको खेतीको मुख्य सिजन भएकोले त्यस अगाडि नै नयाँ मोडालिटीमा जानुपर्ने बाध्यतामा सरकार छ ।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलन थालेपछि त्यसको रोकथामको लागि लकडाउनलाई निरन्तरता दिन विज्ञहरूले सरकारलाई दबाब दिइरहेका छन् भने अर्कोतर्फ लकडाउनको असर कोरोना भाइरसभन्दा धेरै जोखिमयुक्त हुन थालेको भन्दै आर्थिक क्षेत्रका जानकारहरूले विकल्प सोच्न दबाब बढेको छ । यसबीच सरकारका जिम्मेवार अधिकारीहरू आगामी कदम कस्तो चल्ने भन्नेबारेमा छलफल थालेको बुझिएको छ ।
यसैबीच देशमा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित देखा परेका छन् । आज मात्रै ७२ संक्रमित पत्ता लागेका छन् । जसमध्ये काठमाडौको बाक्लो बस्ती भएका टोखा र बूढानीलकण्ठमा समेत संक्रमित भेटिएपछि सरकार थप सचेत बनेको हो ।
यसअघि नै सरकारले काठमाडौ प्रवेशमा निकै कडाइ गरिरहेको भएपनि मानिसहरू लुकिछिपी काठमाडौ आउने गरेपछि सरकारले नाकामा थप कडाइ गरेको छ । यो नितिलाई सरकारले निरन्तरता दिने तयारी समेत गरेको छ ।




















प्रतिक्रिया