आज (मंगलबार) बाट लकडाउनको अर्को चरण प्रारम्भ हुँदै छ । सरकार जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेपनि लकडाउन क्रमश खुकुलो बनाउँदै जाने रणनीतिमा सरकार लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले कोरोना भाइरससँग संघर्ष सँगै आर्थिक तथा सामाजिक गतिविधि बढाउँदै लैजाने बताइसकेका छन् । उनले केहि उद्योग सञ्चालन र निर्माण भइरहेको उदाहरण दिंदै कोरोना रोकथाम सँगै निर्माण र उत्पादन क्षेत्रलाई गति दिइने बताएका थिए । लकडाउनलाई खुकुलो बनाउँदै जाने रणनीतिमा सरकार रहेको यसले समेत प्रष्ट पार्छ ।
एक सञ्चारमाध्यम सँगको अन्तरवार्ताको क्रममा आपूर्तिमन्त्री लेखराज भट्टले पनि लकडाउन क्रमश खुकुलो पार्ने रणनीतिमा सरकार रहेको बताएका थिए । सरकारले लकडाउन खुकुलो पार्ने कुनै घोषणा नगरेपनि लकडाउन खुकुलो हुँदै गएको प्रष्ट देखिएको छ ।
अहिले अत्यावश्यक कामका लागि बाहिर निस्किएका नागरिकहरूलाई सुरक्षाकर्मीले अवरोध गरेका छैनन् । राजधानीका सडकम निजि र दुई पाङ्ग्रे सवारीको चाप बढेको छ । तर उपत्यका प्रवेश गर्ने नाकाहरूमा भने कडाइ यथावत छ । एक जिल्ला बाट अर्को जिल्ला जान अझै कडाइ भएपनि आन्तरिक रूपमा आवतजावत गर्नेहरूलाई कुनै कडाइ गरिएको छैन् । व्यवहारिक छुट प्रदान गरिएको छ ।
सरकारले परिस्थितिको मूल्यांकन गरेर लकडाउन खुकुलो बनाउने मापदण्ड तयार गर्दै छ । आपूर्तिमन्त्री भट्टका अनुसार ‘अहिले हामी तयारी गर्दै छौं, व्यवहारिक खालको मोडल तयार हुँदै छ ।’ उनले यातायात क्षेत्र कुन कुन र कहाँ कहाँ चलाउन दिने भनेर समेत अध्ययन थालिएको जानकारी दिए । संक्रमण बढी भएको क्षेत्र सिल गर्ने र नभएको ठाउँमा सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताएका थिए ।
महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले समेत एक टेलिभिजन अन्तरवार्ताको क्रममा सरकारले लकडाउन सहजीकरण गरेको बताएका थिए । अब लकडाउनको पालना नागरिक स्वंयले गर्दै आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने भन्दै लकडाउन खुकुलो हुन लागेको संकेत गरेका थिए । अन्तरवार्ताको क्रममा डिआइजी पोखरेलले ‘ अब लकडाउन सहजीकरण तर्फ उन्मुख हुन्छौं ।’ समय र परिस्थिति अनुसार सवारी सञ्चालनमा केही छुट प्रदान गरेको जानकारी दिंदै ‘पहिलेजस्तो पूर्ण रूपमा सवारीलाई निषेध नगरिएको’ जानकारी दिएका थिए ।
कोभिड -१९ रोकथामसम्बन्धी सरकारी संयन्त्रका सदस्य समेत रहेका आपुर्तीमन्त्री लेखराज भट्टले अब परिस्थिति अध्ययन गरेर लकडाउनको मोडल परिवर्तन गर्ने र आर्थिक गतिविधिलाई सहज रुपमा अगाडि बढाउने हो । विस्तारै जनजीवन सहज बनाउँदै लैजाने समेत बताए ।
३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाउने क्रम भएकाले बीचैमा पनि कार्यान्वयनमा आउनसक्ने बुझिएको छ । नयाँ मोडालिटी अनुसार अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । यसका लागि कोरोनाको जोखिमको अवस्था हेरेर मापदण्ड तोकेर गर्ने बुझिएको छ ।
३२ जेठ अगावै या लगत्तै रोकथामको उपायसहित निश्चित समय, क्षेत्र र कामका सिलसिलामा निजी सवारी साधन चल्न दिइने विश्वस्त स्रोतले जबानकारी दिएको छ । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । नयाँ मोडालिटीको लकडाउनले आर्थिक गतिविधिलाई सहजीकरण गर्ने नीति लिन लागेको छ ।
मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइने बताए । जोखिमयुक्त स्थानलाई सिल गरिने उनको भनाई छ । त्यसपछि आवश्यकता हेरी यातायात सञ्चालनबारे समेत निर्णय लिइने उनले बताए ।
भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि कम्तिमा १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । अत्यावश्यक ठाउँमा सेना परिचालनको निर्णय सरकारले गरिसकेको छ । राष्ट्रपतिबाट सेना परिचालनको घोषणा गर्नेबारे तयारी भइरहेको छ ।




















प्रतिक्रिया