नेपाल भारत सीमा विवादलाई लिएर भारत अहिले नेपालसामु झुकेको परिदृश्य देखिदैंछ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नेपालको नयाँ नक्सा अनुमोदन भैसकेपछि दिल्ली रक्षात्मक बनेको अनुभव गर्न सकिन्छ ।
नेपाल भारत सीमा विवादपछि पहिलोपटक मुख खोल्दै सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले ‘नेपाल र भारत बिचको सम्बन्ध सामन्य सम्बन्ध होइन, रोटी बेटीको सम्बन्ध’ भएको टिप्पणी गर्दै सीमा विवाद वार्ताकै माध्यमबाट सम्बोधन गर्ने सार्वजनिक टिप्पणी गरेपछि नेपालले प्रतिनिधिसभाबाट नयाँ नक्सा जारी गरिसकेपछि भारतीय विदेश मन्त्रालयले ‘नेपालको पछिल्लो कदमले सीमा विवादमा वार्ता गर्न सहमति उल्लंघन गरेको’ दाबीलाई पुरै खारेज गर्छ । यसले देखाउँछ कि दिल्ली नेपालसामु झुक्ने वातावरण निर्माण हुँदै छ ।
भारतीय रक्षामन्त्री सिंहले नै गत महिना नेपालको भूमी हुँदै मानसरोवर सम्म जाने बाटो उद्घाटन गरेपछि नेपाल भारत सीमा विवाद उत्कर्षमा पुगेको हो । नेपाल भारत सीमा विवाद वार्ताबाटै हल गर्ने रक्षामन्त्री सिंहको अभिव्यक्तिलाई नेपालको आक्रमक कदमले दिल्ली रक्षात्मक बन्न बाध्य भएको स्पष्ट संकेत गर्छ ।
यस्तै नेपाल भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनितिज्ञ करण सिंहले नेपाल भारत सम्बन्ध तनावपूर्ण बन्नुमा भारत जिम्मेवार रहेको भन्दै गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भिरतापूर्वक नलिएको भन्दै दिल्लीलाई वार्ताको लागि दबाब समेत दिएका छन् ।
सोमबार एक वक्तव्य नै जारी गरेर सिंहले ‘गत नोभेम्बरमै यो बिषयमा दिल्लीले तत्कालै बिदेश सचीव स्तरीय वार्ताको पहल गनुपर्ने एंव आवश्यक परेको खण्डमा विदेशमन्त्री स्तरीय र प्रधानमन्त्री तहमै समेत संवाद हुनुपर्नेमा’ त्यसो हुन नसकेको भन्दै त्यसलाई भारतका तर्फबाट भएको गम्भीर कुटनैतिक कमजोरी रहेको बताउँदै त्यसैको परिणामस्वरूप अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरेका छन् ।
त्यस्तै पूर्वभारतीय राजदूत राकेश सुदले नेपाल भारत सम्बन्ध धेरै खतरनाक बिन्दुमा पुगेको टिप्पणी गर्दै नेपालले सीमा समस्या समाधानका लागि नोभेम्बरदेखि वार्ताका लागि दबाब दिंदासमेत भारतले काठमाडौसँग वार्ताका लागि समय ननिकाल्नु दिल्लीको कमजोरी भएको विश्लेषण गरेका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईसँगको कुराकानीको क्रममा पूर्वराजदूत सुदले ‘भारतले आफ्नो संवेदनशीलताको अभाव प्रस्तुत गर्दा’ समस्या सिर्जना भएको उल्लेख गर्दै नेपाल भारत बिचको सीमा समस्या समाधानका लागि वक्तव्यबाजी बन्द गरेर, एकातर्फी गतिविधि रोक्ने र लेनदेनको भावना सहित समस्या समाधानको मनसायसहित वार्तामा बस्नुपर्ने उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयको पछिल्लो कुटनैतिक अडानको घुमाउरो पारामा विरोध गरेका छन् ।
यो सँगै विपक्षी भारतीय कंग्रेस तथा अन्य कुटनीतिज्ञहरुले समेत नेपाल भारत सम्बन्धमा दिल्लीको कमजोरी भएको कुरा स्वीकार गर्न भारतीय संस्थापनलाई दबाब दिएको परिदृश्यले नेपाल भारत विवादमा अहिले दिल्ली रक्षात्मक बनेको कुरा प्रत्यक्ष अनुभव गर्न सकिने जानकारहरुको भनाइ छ ।
यदि यो बेलामा नेपाल सरकारले आफ्नो कुटनैतिक क्षमताको उपयोग गर्न सक्यो भने अतिक्रमित नेपाली भू-भाग फिर्ता आउन सक्ने सम्भावना बढेर गएको जानकारहरुको भनाइ छ ।



















प्रतिक्रिया