Logo

प्रदेश

कोरोना नियन्त्रणमा बिरगञ्ज महानगरको सरहानिय कदम : जनस्तरबाटै पिसिआर मेसिन खरिद



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि संघीय र प्रदेश सरकारको मुख नताकी पर्साको बिरगञ्ज महानगरपालिकाले नगरबासीको सहयोगमा पिसिआर मेसिन खरिद गरी नारायणी प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ ।

संघीय सरकार र प्रदेश सरकारले महानगरका लागि आवश्यक टेस्टिङ किटको आपूर्ति निकै कम भएपछि नगरबासीको सहयोगमा पिसिआर मेसिन किन्ने निर्णय भएको बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले अनलाइनपाना डटकमलाई  जानकारी दिए ।

‘कोरोना नियन्त्रणको लागि ७५ दिनको लकाडाउन र एक हप्ताको कर्फ्युले समेत कोरोना नियन्त्रणमा सोचेजस्तो उपलब्धि हासिल गर्न समुदाय स्तरमा पिसीआर टेस्टको मात्रा बढाउनुपर्नेमा त्यसो गर्न नसकिएकाले पिसिआर मेसिन किन्ने निर्णय गरेका हौं । कम्तीमा एक घर एक परिक्षण हाम्रो लक्ष्य हो ।’ मेयर सरावगीले भने ।

बिना योजनाको लकडाउनले औद्योगिक र कृषि क्षेत्रमा ठूलो क्षती पुगेकाले कोरोना नियन्त्रण गर्न पिसिआर परिक्षणको दायरा फराकिलो पार्ने र बिरगञ्जलाई पुनः ग्रिन जोनमा परिणत गर्नको लागि समेत परिक्षण बढाउनुको अर्को विकल्प नरहेको समेत मेयर सरावगीको बुझाई छ ।

पिसिआर मेसिन किन्न तथा कोरोना नियन्त्रणको लागि सहयोग गर्न नगरबासीलाई गरेको अपिलमा अहिलेसम्म १ करोड ७५ लाख रकम संकलन भएको जानकारी दिंदै कम्तीमा १० करोडको आपतकालीन फण्ड बनाउने महानगरको योजना रहेको समेत उनले जानकारी दिए । अहिलेसम्म आइसोलेसन वार्ड, ७० बेड क्षमताको देशकै पहिलो नमुना कोरोना अस्पतालको निर्माण तथा स्वास्थकर्मी एंव सफाइकर्मीको व्यवस्थापनका साथै कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका डाक्टर तथा स्वास्थकर्मीको व्यवस्थापन महानगरले गरिरहेको समेत उनले जानकारी दिए ।

पिसिआर मेसिन खरिदसँगै कम्तीमा ५० हजार किट किन्ने महानगरको योजना रहेको भन्दै मेयर सरावगीले ‘संघीय र प्रादेशिक सरकारलाई आवश्यक सहयोगको लागि आग्रह गरिएको र संघीय तथा प्रादेशिक सरकारबाट आवश्यक सहायता नमिल्दा नगरबासीकै सहयोगमा कोरोना नियन्त्रणमा सफल हुन्छौं, त्यसको लागि भिख माग्न परे पनि हामी तयार छौं ।’ उनले भने ।

नारायणी प्रादेशिक अस्पतालमा नयाँ पिसिआर मेसिन थप गरिएसँगै अस्पतालको परिक्षणको क्षमता तेब्बर वृद्धि भएको जानकारी दिंदै हरेक दिन कोरोना परिक्षणको लागि अत्यावश्यक परिक्षण किट खरिदको लागि महानगरले टेण्डर आह्वान गरिसकेको तथा किट खरिद भएर आउने प्रक्रियामा रहेको जानकारी दिंदै उनले त्यो पर्याप्त नभएको भन्दै प्रदेश सरकार र संघीय सरकारलाई सहयोगको लागि ताकेता गरिरहेको समेत जानकारी दिए ।

बिरगञ्ज महानगरले आफ्नो नगरपालिका मात्रै नभएर सिंगो जिल्लालाई कोरोना ग्रिन जोनमा परिणत गर्ने योजना अनुरुप काम गरिरहेको जानकारी दिंदै पछिल्ला दिनमा बिरगञ्ज महानगर सहित समग्र जिल्लामा नै कोरोना संक्रमण केही कम देखिएको समेत जानकारी दिए । पिसिआर मेसिन खरिदसँगै आवश्यक जनशक्तिको व्यवस्थापनमा यदि संघीय र प्रादेशिक सरकारले पूर्ति नगरे बिरगञ्ज महानगरले करारमा जनशक्ति नियुक्त गर्ने तयारी समेत अगाडि बढेको जानकारी दिए ।

विपत व्यवस्थापनमा अहोरात्र खट्दा समेत क्वारेन्टिन व्यवस्थापनलाई लिएर ठाकुराममा भएको अव्यवस्थित भएको क्वारेन्टिनको भिडियो सामाजिक सञ्जालमा प्रचार गरेकोमा आफूलाई निकै दु:ख लागेको मेयर सरावगीले टिप्पणी गर्दै बिरगञ्ज महानगरपालिकाका क्वारेन्टिन देशकै नमुना रहेको समेत दावी गरे ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।