वासिङ्टनले भारत, जापान र अस्ट्रेलियासँगको इन्डो–प्यासिफिक रक्षा सम्बन्धलाई औपचारिकता दिने लक्ष्य लिएको अमेरिकी स्टेट डिपार्टमेन्टका शीर्ष अधिकारीले बताएका छन् । ‘क्वाड’ नाम दिइएको यो गठबन्धन नर्थ एटलान्टिक टिट्री अर्गनाइजेसन (नेटो) समान हुने बताइएको छ ।
‘चीनको सम्भावित चुनौति’ विरुद्ध संयुक्त रुपमा ‘रक्षा कवच’ बनेर काम गर्न चार देशको समूह तयार गर्ने र यस क्षेत्रका अन्य राष्ट्रहरुलाई पनि समावेश गरिने उद्देश्य रहेको डेप्युटी सेक्रेटरी अफ स्टेट स्टेफन बिगनले बताए ।
‘इन्डो प्यासिफिक क्षेत्रमा सशक्त बहुपक्षीय संरचनाहरुको कामी रहेको छ,’ उनले भने, ‘त्यहाँ नेटो वा युरोपियन युनियनको आकारको संरचना केही पनि छैन । एसियाका शक्तिशाली भनिएका संस्थाहरु पनि, मेरो विचारमा, समावेशी छैनन् । त्यही भएर कुनै समयमा यस्तो संरचनालाई औचारिकता दिने अवसर छ ।’
उनले नेटो पनि सुरुवातमा सानो उद्देश्य लिएर खडा गरिएको स्मरण गराए । साथसाथै उनले वासिङ्टनले ‘प्यासिफक नेटो’को लक्ष्यलाई तौलिएर मात्र अघि बढ्ने स्पष्ट पारे । अमेरिकाजस्तै अन्य राष्ट्र पनि प्रतिबद्ध रहे मात्र त्यस्तो औपचारिक गठबन्धन तयार हुने उनको भनाइ थियो ।
युएस–इन्डिया पार्टनरसिफ फोरमद्वारा आयोजित अनलाइन छलफल कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत रिचार्ड वर्मासँग कुराकानी गर्दै बिगनले चार देशका नेतृत्व चाँडै नै नयाँ दिल्लीमा भेट्ने बताए ।
अस्ट्रेलियाले भारतको जल सेनाको अभ्यासमा भाग लिनु यो रक्षा गठबन्धन बनाउने तर्फको सकारात्मक कदम हुने पनि उनको जिकिर थियो । भारतले यसअघि नै अमेरिका र जापानलाई अभ्यासका लागि निमन्त्रण दिइसकेको छ । कोभिड–१९ का कारण सरेको यो अभ्यासमा अस्ट्रेलियालाई भने औपचारिकरुपमा निम्ता गरिसकिएको छैन ।
यो अभ्यास हरेक वर्ष बंगालको खाडीमा हुने गर्दछ । यसलाई सन् १९९२ देखि अमेरिका र भारतले सञ्चालन गर्दै आएका छन् । सन् २०१५ देखि यसमा जापान पनि जोडिएको छ । गलवान क्षेत्रमा भारतीय र चिनियाँ क्षेत्रमा भएको झडपपछि भारतले अस्ट्रेलियालाई पनि निमन्त्रणा गर्ने अपेक्षा गरिएको छ ।स्रोत : साउथ चाइना मोर्निङ पोष्ट





















प्रतिक्रिया