लकडाउनको समयमा लुटपाट गर्ने नेपाल र भारतका संगठित गिरोह पक्राउ परेका छन् । विराटनगरमा हतियार देखाएर लुटपाट गर्ने गरेको आरोपमा नेपाल र भारतका युवाहरूको संगठित गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू भारत बिहार राज्यको सीतामढीका २७ वर्षीय राजु साह, मोरङ कटहरी गाउँपालिका– २ का २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बोदेबर्साइन नगरपालिका– ८ का २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह छन् ।
उनीहरुलाई लुटपाटमा प्रयोग भएको पेस्तोल र बन्दोबस्तीका सामान अनि नगदसहित उनीहरू बस्दै आएको डेराबाट पक्राउ गरेर प्रहरीले बुधबार सार्वजनिक गरेको हो । पक्राउ परेका सबैलाई प्रहरीले हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा संगठित अपराधमा मुद्दा दर्ता गराएको छ ।
मोरङका एसपी सन्तोष खड्काका अनुसार प्रहरीले गिरोहका सदस्य नन्दकिशोर साहको विराटनगर– ३ कञ्चनबारीस्थित डेराबाट ४९ हजार चार सय ५० भारतीय र नौ हजार २० नेपाली रुपैयाँसहित अटोमेटिक पेस्तोल एक थान र तीन थान गोली बरामद गरेको छ । त्यसैगरी उनीबाट विभिन्न कम्पनीको मोबाइल, दुई थान भारतीय बैंकको चेक, एक थान चक्कु र दुई थान मोटरसाइकल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
सप्तरीको बोदेबर्साइन घर भई विराटनगर– ३ कञ्चनबारीमा डेरा लिएर बस्दै आएका नन्दकिशोर साह र मोरङ कटहरी घर भएका अभिषेक साह लामो समयदेखि चोरीमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । उनीहरूले नै संगठित गिरोह तयार गरेर भारतबाट ६ राउन्ड गोलीसहितको पेस्तोल मगाएर लुटपाट गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
प्रहरीका अनुसार गिरोहका सदस्यहरू कोही काठ मिस्त्रीको त कोही ग्यारेजमा मेकानिक अनि कोही फैन्सी पसलमा काम गर्दथे । १५ भदौमा विराटनगर जलजला मोडस्थित चाइना बजारका सञ्चालक नरेश साहको घरमा संगठित गिरोहले हतियार र चक्कु देखाएर ११ लाख रुपैयाँ लुटेर लगेको थियो ।
प्रहरीेले त्यही पसलमा सेल्समेनको काम गर्ने भारतीय युवा राजु साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा संगठित गिरोह बनाएर लुटपाट गर्ने गरेको पोल खुलेको थियो । त्यसपछि प्रहरीले गिरोहलाई सक्रियतापूर्वक खोजी गरेर सबैलाई पक्राउ गर्न सफल भएको थियो ।





















प्रतिक्रिया