जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ जनाकाे शव फेला परेकाे छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बाढीका कारण बेपत्ता भएका १३ मध्ये ६ जनाकाे शव फेला परेकाे बताउनु भयाे । नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले स्थानीयका ३० भन्दा बढि घरसमेत बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा करिब १३ जना सम्पर्कबिहीन भएको न्यौपानेले जानकारी दिनुभयो । ‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए ? यकिन हुन सकेको छैन’, न्यौपानेले भन्नुभयो, ‘अहिले उद्दारको काममा लागिरहेका छौं ।’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा राति नै प्रहरी परिचालन गरिएको र बिहानदेखि नेपाली सेना र सशस्त्र प्रहरी बलसमेत उद्दारमा खटिएको बताउनुभयाे ।
प्रहरीका अनुसार पहिरोमा पुरिएकामध्ये एक जनाको शव भने बुर्तिवाङस्थित पुरानो पावरहाउस नजिकै भेटिएको छ । यस्तै ढोरपाटन घुम्न गएका गलकोटका एकजना व्यक्तिसमेत बेपत्ता भएको स्थानीयले बताएका छन् ।
प्रहरीले भूजिखोलामा पहिरोले थुनिँदा खोला बढेर आएको खबरसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार, खर्वाङसम्म नदी तटमा रहेका बस्तिमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको जनाएको छ ।
घटना राति भएका कारण क्षतिको पूर्ण विवरण आउन सकेको छैन, बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी भन्नुभयो, ‘हामी थप विवरण संकलनको प्रयासमा छौँ ।’




















प्रतिक्रिया