Logo

अर्थ

पर्यटक भित्र्याउन शैलुङको कालापानीलाई बेस क्याम्प बनाइने



रामेछाप । शैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन र पर्यटक भित्र्याउन विभिन्न संरचनाहरु निर्माण गर्न लागिएका छन् । र्यटकहरुलाई सेवा सुविधाका लागि होटल, गोलघरलगायतका संरचनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । अझ केही सययमा नै यी संरचनाहरु सञ्चालनमा ल्याइने छन् ।

समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए । उनका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । वाग्मती प्रदेशको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका सुपरभाइजर भीजन लामाले जानकारी दिए ।

यहाँ २० वटा होटल निर्माण हुने लक्ष्य अनुसार तीनवटा बनेर सञ्चालनमा आइसकेका छन् । सुपरभाइजर लामाले भने, ‘यहाँ सौन्दर्य समेत बनाउन ५० लाख रुपियाँमा बुद्धपार्क निर्माण हुन लागेको छ । ५७ लाख रुपियाँमा बौद्ध स्तूपा (छोर्तेन) निर्माण भएको छ ।’

पर्यटकलाई शैलुङ जान सहजताका लागि संघीय सरकारको साझेदारीमा ५४ लाख रुपियाँमा पैदल मार्ग निर्माण भइसकेको छ । उनले भने कालापनीदेखि सैलुङसम्म पाँच सय मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार रहेको मिनीगेटवाल निर्माणका लागि चार करोड ९४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ ।

शैलुङडाँडामा दुई करोड रुपियाँ लगानीमा ४५ फिट अग्लो छोर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । शैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाले २०–२० हजार रुपियाँ लगानी गरेका छन् भने बाँकी रकम व्यक्ति, संघ संस्थाहरुबाट आर्थिक सहयोग जुट्दै गरेको जानकारी दिँदै सुपरभाइजर लामाले भने, पर्यटकहरुलाई सुविधाका लागि गाउँपालिकाले फ्रि वाइफाइको व्यवस्था समेत गरिदिएको छ । गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ । कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित गरिसकेको छ ।

गाउँपालिका १२८.६७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । जिल्लाको एक ऐतिहासिक, धार्मिक, सँस्कृतिक र पयर्टकीय महत्व बोकेको गाउँपलिकामा २९ हजार ९९३ जनसंख्या रहेको छ । गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १२:५८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।