Logo

विचार / ब्लग

गाई देख्ने निर्वाचन आयोगले सूर्य देख्दैन, किन ?



भर्खरै महाधिवेशबाट तङ्ग्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो नयाँ नेतृत्वसँगै आफ्नो राजनीतिको विचारधारा प्रस्तुत गरिरहेको छ । ठाउँ ठाउँमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी प्रवेश गराउने र सभा गर्ने विषयमा व्यस्त रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक राजतन्त्रवादी र हिन्दु राष्ट्रवादी राजनीतिक दल हो । यसलाई पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्दद्वारा गठन गरिएको थियो । राष्ट्रिय पञ्चायत समाप्त पश्चात् दुई प्रधानमन्त्री थापा र चन्दले यसको नेतृत्व दुई–दुई गरिसकेका छन् ।

अहिलेको मुख्य मुद्धा भने चुनाव चिन्हमा गएर अल्झिएको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको थियो । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि भूतपूर्व राप्रपा अध्यक्ष थापाले असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४ (क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको थियो । यस निर्णयलाई राप्रपा निकट व्यक्तिहरूले चर्को आलोचनाुमेत गरेका थिए । त्यस्तै, विधानको प्रस्तावको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको भावना तथा प्रस्तावनाविपरीत भएको भन्दै हटाउन आयोगले निर्देशन थियो ।

आम समर्थकहरूले निर्वाचन आयोगलाई खबरधारी गर्दै प्रश्न गरेका थिए कि “२०७४ सालको आम निर्वाचनमा राप्रपाले गाई इंगित झन्डा र राजसंस्था-हिन्दु अधिराज्यको मुद्दा लिएर निर्वाचन लड्दा संविधान विपरीत भएन तर आज आएर त्यही कुरा के कारणले संविधान विपरीत भयो ? यो बीचमा संविधान त परिवर्तन भएको छैन होला । निर्वाचन आयोगले यसको जवाफ दिनैपर्छ ।”

भएको के थियो ?

आयोगका शाखा अधिकृत मधुकरप्रसाद पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रलाई शनिबार राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेका थिए । निर्वाचन आयोगले राप्रपाको संशोधित विधान तथा केन्द्रीय समितिको विधान अद्यावधिकका लागि यसअघि नै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन लगाएको कुरा पनि स्मरण गराएको पत्रमा स्पष्ट उल्लेखित रहेको देखिन्छ ।

‘त्यस दलबाट पेश भएका विधान लगायत कागजात जाँचबुझ एवम् अध्ययन गर्दा दलको विधानमा समावेश भएका केही विवरण संशोधन-परिवर्तन गर्नु पर्ने तथा हटाउनुपर्ने देखियो’, आयोगले भनेको छ, ’उक्त पार्टीको विधान बमोजिमको आधिकारिक निकायबाट निर्णय गरी संशोधित विधान र नियमावली ७ दिनभित्र पेश गर्न हुन आदेशानुसार अनुरोध छ ।’ आयोगले संशोधन गर्नुपर्ने भन्दै राप्रपालाई आफ्नो विधानबाट संविधान प्रतिकूल रहेका ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भनी उल्लेख वाक्यांश हटाउन भनेको छ ।

‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन’, आयोगले भनेको छ, ’विधानको प्रस्तावनाको बुँदा ५ मा उल्लेखित ‘अन्तरिम विधान’ भन्ने वाक्यांश को सट्टा राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान, २०७८’ उल्लेख गर्नु हुन ।

विधानको धारा १(घ) मा उल्लेखित ’सबै व्यक्ति तथा निकायहरुमा’ भन्ने वाक्यांश को सट्टा ’राप्रपामा आवद्ध सबै सदस्यहरूमा’ भन्ने वाक्यांश उल्लेख गर्नु हुन ।’ निर्वाचन आयोगले नेपालका राष्ट्रिय प्रतीकलाई कुनै पनि दलको चुनाव चिन्ह या झण्डाका रुपमा प्रयोग गर्न नपाइने पनि भनेको छ । आयोगले राप्रपालाई चुनाव चिन्हका रुपमा प्रयोग गरिएको गाई हटाउन पनि भनेको छ ।

गाई नेपालको राष्ट्रिय जनावर हो । ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई प्रदान गरिसकिएको भए सोको पुनरावलोकन गर्ने भन्ने आयोगबाट मिति २०७७-१०-०७ मा निर्णय भएको छ’, पत्रमा भनिएको छ, ’विधानको धारा ४(क) मा उल्लेखित ’झण्डाको मध्य भागमा गाई चिन्ह भएको’ भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न हुन’ आयोगले राप्रपाको विधानको धारा ५.२ मा उल्लेखित ‘सम्बर्द्धनवाद’ भन्ने शब्दलाई परिभाषित गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगका एक अधिकारीले राप्रपाले नेपालको वर्तमान संविधानविरुद्ध गएर विधानमै राखिएका प्रावधान हटाउन निर्देशन गरिएको बताए । उनले पहिले पनि राप्रपाले नमानेको स्मरण गर्दै यस पटक निर्देशन अनुसार अद्यावधिक हुने विश्वास व्यक्त गरेका थिए ।

त्यसो त राप्रपाले पछिल्लो निर्वाचनमा गाई अङ्कित झण्डाबाट नै चुनावमा सक्रिय भएको थियो । तर यसपालि भने निर्वाचन आयोगले नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने निर्णय गरेसँगै राप्रपामा खैलाबैला मच्चिएको हो ।

निर्वाचनको निर्णयसँगै राप्रपा समर्थकले नेकपा एमालेको सूर्य चिन्हमाथि प्रश्न खडा गरेका छन् । किनकि जुन कुरालाई निर्वाचन आयोगले नियम बनाएको छ त्यही कु्रा नेकपा एमालेको झण्डामा प्रयोग भइरहेको छ । सूर्य चिन्ह नेपालको राष्ट्रिय झण्डामा अंकित रहेको छ । झण्डाको विषयमा संविधानमा खुलस्त पारिएको छ जहाँ लेखिएको छ, “दुई रातो अर्ध–त्रिकोणको वरिपरि ठुलो नीलो किनारा भएको अधिव्यापी दायाँ फर्किएका त्रिकोणहरूको अद्वितीय आकारको संयोजनः। सानो माथिल्लो त्रिकोणमा सेतो शैलीकृत चन्द्रमा (तेर्सो अर्ध चन्द्रमा मा उदाउँदो सूर्य) र ठूलो तल्लो त्रिकोणमा सेतो बाह्र–सूचक सूर्य रहेका छन् ।”

निर्वाचन आयोगले प्रष्ट खुलाएको नियममा भने नेकपा एमाले बाँचेजस्तो देखिन्छ । किनकि नेकपा एमालेलाई कुनै पत्र जारी भएको छैन । तर नेपालको राष्ट्रिय झण्डामा सूर्य चिन्ह रहेको भए पनि निर्वाचन आयोग मौन रहेको देखिन्छ । हुन त नेकपा एमाले कहिले सत्ता र कहिले विपक्षमा नै बस्ने भएकाले पनि नेपालको ठूलो राजनैतीक दल हो ।

ऊ ठूलो नै भएका कारण नियम ऊप्रति नलाग्ने हो भने निर्वाचन आयोगले त्यस कुरालाई खुलस्त पार्नु आवश्यक छ । राप्रपा सानो दल भएकै कारण उसलाई अन्याय भएको प्रस्ट रुपमा देखिएको छ । साथै निर्वाचन आयोगले एकाधिकार बनेर नियमको कसी लादेकोझैँ बुझ्न सकिन्छ । निर्वाचन आयोगको कदमप्रति आम मानिसले निर्वाचन आयोगसँगको विश्वास टुट्न सक्ने आंकलन गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १३:५८   :  बजे

615
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।