Logo

अन्तर्वार्ता

लिपुलेक, लिम्पियाधुरा बिदेशीले लुट्दा पनि दलहरू टुलुटुलु हेरेर बसेका छन् : तारानाथ लुइँटेल [अन्तर्वार्ता]

तारानाथ लुइँटेल : अध्यक्ष संयुक्त जनआन्दोलन मोर्चा



नेपाली राजनीतिमा पछिल्लो समय धेरै उतारचडाव आइरहेको छ । राजनीति अस्थिर बनेको छ । यस्तो अवस्थामा जनता पनि ससंकित हुन पुगेका छन् । राजनीतिमा पछिल्लो समय विभिन्न तरंगहरू पनि आइरहेको छ । एक समुह संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न लागि परेको छ ।

संयुक्त जनआन्दोलन मोर्चाले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न आन्दोलन गरिरहेको छ । मोर्चाले कसरी आन्दोलन गर्दै छ, अबको रणनीति के छ, यस विषयमा संयुक्त जनआन्दोलन मोर्चाका संयोजक तारानाथ लुइँटेलसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको सम्पादित अंश :

संयुक्त जनआन्दोलन मोर्चाको मुख्य एजेण्डा के हो ?

हामीले साना—साना धार्मिक संस्थाहरू र राजनीतिक दलहरू गरेर सय वटासंस्थाहरू मिलेर संयुक्त जनआन्दोलन मोर्चा बनाएका छौँ । हाम्रो मुख्य एजेण्डा भनेको मुलुकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य, अखण्ड नेपाल र भ्रष्टचारमुक्त नेपाल बनाउने हो । यी एजेण्डाहरू लिएर हामी जनता सामु गएका छौँ । सबै देशको धर्म, संस्कृति र रीतिरिवाज हुन्छ । त्यसैगरी हाम्रो देशको पनि धर्म संस्कृतिलाई बलियो बनाएर लैजानुपर्छ । विदेशीले बोकाएको भारीलाई, विदेशबाट आयतित भएको संस्कृतिलाई मलजल गरेर अगाडि बढाउन हुँदैन । सबैले सबै धर्म मान्न पाउन पर्छ भन्ने संयुक्त जनआन्दोलन मोर्चाको धारणा छ ।

तपाईँहरूको मोर्चामा जनसहभागिता अत्यन्त कम छ । यसमा जनसहभागिता वृद्धि गर्न अब के गर्नुहुन्छ ?

हाम्रो सय वटा धार्मिक संस्थाहरू र साना दलहरू मिलेर बनेको मोर्चा छ । अझै पनि यो अभियानमा लागेका सबैलाई जोडेर जनता सामु जाउँ भन्ने हाम्रो धारणा हो । ७७ वटै जिल्लामा मोर्चा पुगिसकेको अवस्था छ । जनतालाई ब्युँझाउन हामी लागेका छौँ । हजारौँ वर्षदेखिको हाम्रो धर्म—संस्कृतिलाई हामीले विस्थापित गर्न हुँदैन । शाहवंसीय राजसंस्थाले हामीलाई सिंगो नेपाल नबनाएको भए हामी कहाँ हुन्थौँ । अहिले नयाँ नेपाल गणतन्त्र भन्दै इतिहास बिर्सिएको छ । टुक्रा—टुक्रा राज्यलाई एउटा सिंगो नेपाल बनाएको इतिहास बिर्सिएर नेपाललाई आज विदेशीको इसारामा नचाइएको छ । विदेशीको आडमा अन्तरिम कानुन बनाएर राजालाई पाखा लगाउने काम भयो । त्यसैले अब हामी राष्ट्रियता र सार्वभौम सत्तालाई बलियो बनाएर लैजाने काम संयुक्त जनआन्दोलन मोर्चाले गर्नेछ ।

यहाँ पृथ्वीनारायण साहको जन्मजयन्ती नमनाउने तर मास्कको फोटोमा माल्यर्पण गर्ने, लेलिनको जन्म दिवस मनाउने प्रचलन चलेको छ । त्यसैले म दलका नेताहरूलाई भन्न चाहान्छु । विदेशी माटो नसम्झनुस, स्वदेशी माटो सम्झनुस । सबै दलहरूले जनतालाई दिएको बचन बिर्सिएका छन् । आज ४० लाख युवा विदेशमा भौँतारिएका छन् । यस्ता समस्याहरूलाई समाधान गर्न अब संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा जनतासामु आएको छ ।

मोर्चालाई पूर्वराजा ज्ञानेन्द्र शाहको पनि साथ छ ?

त्यस्तो होइन् । राजा सबैको साझा हुन् । राजा कुनै दलमा, संस्थामा हुँदैन् । सबै जनताको साझा हुन्छ । अहिले राजासहितको प्रजातन्त्र भएका देशहरूमा जनता सुखी छन् । एउटा मियोको रुपमा संवैधानिक राजसंस्था हुन पर्छ भन्ने हाम्रो मान्यता हो ।

१५ वर्ष भैसक्यो राजसंस्था हटेको । अब फेरि राजसंस्था पहिलेको जसरी नै सकृय हुन सक्छ ?

गणतन्त्रले जनतालाई दिएको आश्वासन केहि पनि पुरा भएको छैन् । राजा रहँदा नेपालको अवस्था कस्तो थियो र अहिले कस्तो अवस्था आएको छ भन्न पर्ने कुरा तपाइँ हामीले सोच्न पर्ने बेला आएको छ । त्यसैले म आग्रह गर्न चाहान्छु । गणतन्त्र यो मुलुकको लागि हितकार देखिएन् । त्यसैले अब मियोको रुपमा संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सानो संख्याको संसद बनाउएर अगाडि जान पर्छ ।

हिन्दु राष्ट्र कायम गर्दा अन्य धर्म मान्नेहरूको अस्तित्व के हुन्छ ?

गणतन्त्र आउनुभन्दा अगाडि यहाँ अन्य धर्म थिएन ? किन अहिले देशलाई इसाइकरण गरिँदै छ । विदेशीको आडमा धर्मलाई परवर्तन गरिँदैछ । हामीले सबै धर्मलाई बराबरीको रुपमा हेरेका छौँ । यो ९४ प्रतिशत ओमकार परिवार भएको देशलाई परिवर्तन गर्न जरुरी छैन । अहिले राजसंस्था राख्ने कि नराख्ने, हिन्दु राज्य कायम गर्ने कि नगर्ने भनेर जनमतसंग्रह गर्न यो सरकारको तागत छ ? अहिले देशमा संसद संसद जस्तो छैन्, अदालत अदालत जस्तो छैन्, न्यापालिका—कार्यपालीका अस्तव्यस्त छ । यो किन भयो ?

लिपुलेक, लिम्पियाधुरा बिदेशीले लुटेको छ । दलका नेताहरू टुलुटुलु हेरेर बसेका छन् । आज नेकपा माओवादी केन्द्रले भारतलाई यहाँ सडक विस्तार नगर भन्न सकेन् । यि दलहरूले जनतालाई भ्रममा पारेका छन् । बैदिक सनातन हिन्दु राष्ट्रलाई विधानमा राख्न पर्छ । कम्युनिस्ट र क्रिस्चेन भनेको एक सिक्काको दुई पाटा हुन् । कम्युनिस्टहरूको आडमा आज डडेलो लागेसरी इसाईकरण भैरहेको छ । यसलाई सरकारले रोक्न सकेको छैन् । सरकारनै पश्चिमाको गोटी बनेर इसाईकरण गर्न दिइरहेको छ । त्यसैगरी यो संघियताले मुलुकलाई बलियो बनाउन सक्दैन् । अहिले उद्योगहरूलाई विस्थापित गरिएको छ ।

हिन्दु धर्म विस्थापित हुनु र क्रिस्चियन धर्मको विस्तार हुनुमा हिन्दु धर्मको भन्दा क्रिस्चियन धर्मको सार धेरै प्रभावकारी छ होला नि ?

कुनै पनि घरको अभिभावकले बालबच्चालाई नियन्त्रण गरेन भने त्यो घरको अवस्था भद्रगोल हुन्छ । त्यसैले देशको अस्तित्व जोगाउन पनि धर्म जोगाउन पर्छ । धर्मलाई प्रचार प्रसार गर्न पाईदैन भन्ने हाम्रो सरकारसँग माग हो । धर्मलाई करकापमा र लोभलालचमा परिवर्तन गराउन पाईदैन् ।

संयुक्त जनआन्दोलन मोर्चाले सिंगो प्रणाली परिवर्तन गर्न समग्र नेपालीलाई कसरी एकजुट बनाउँछ ?

हामी यो एजेण्डा लिएर गाउँगाउँ जान्छौँ । हिन्दु राज्य र राजसंस्थाका एजेण्डा लिनेहरूलाई एकै ठाउँमा आउन पनि म आग्रह गर्छु । हाम्रो देशको भौगोलीक अवस्थालाई नबिर्सीन सबैलाई दललाई आग्रह गर्न चाहान्छु । सबै दलहरूलाई गलत बाटो छाडेर फर्कन आग्रह गर्न चाहान्छु । हामी सबै राजावादी संघसंस्थाहरू र हिन्दु राष्ट्र चाहाने संघसंस्थाहरू एक हुनपर्छ ।

तपाईँहरू अहिलेसम्म किन चुप बस्नुभयो ? र अहिले आएर किन फेरि जनआन्दोलन मोर्चा बनाउनुभयो ?

हामीले आन्दोलन गरेको हो । २०६४ साल जेठ ४ गते देशमा धर्मनिरपेक्षता कायम भयो । जेठ २७ गते हामीले बृहत आन्दोलन गरेको हो । त्यतीबेला देखि नै हामी निरन्तर आन्दोलनरत छौँ । अब हामी सबै एक जुट हुनपर्ने भएको छ । त्यसैले राजा ज्ञनेन्द्र पुर्व राजा होईन । पुर्व कोही हुँदैन् । त्यसैले ज्ञनेन्द्र साहा राजा हो ।

निर्वाचन आयोगले राप्रपालाई राजसंस्था र हिन्दु राज्यको एजेण्डा हटाउन निर्देशन दिएको छ । तपाईँ राप्रपाको पनि सदस्य हुनुहुन्छ । यस विषयमा के भन्नुहुन्छ ?

निर्वाचन आयोगले पेल्ने काम गरेको छ । राप्रपाको गाई चिन्ह हटा भन्ने आयोगले सुर्य किन नदेखेको । सानो दललाई हेप्ने काम निर्वाचन आयोगले गरेको छ । यो सच्याउन पर्छ । यसमा राप्रपाले के भन्छ । पार्टीको धारणा आउन बाँकी छ ।

जन्मसिद्ध राजा हुने एजेण्डा किन उठाउनुभएको ? जनता राष्ट्र प्रमुख हुन नपाउने ?

तपाईँ यस बिषयमा रनभुल्ल हुनुहुन्छ । यदि पृथ्वीनारायण साहले एकीकरण नगरेको भए हामी र हाम्रो रहँदैनथ्यो । राजसंस्थाले १० वर्षमा धेरै उद्योगहरू स्थापना भएको थियो । पञ्चवर्षीय योजनाहरू ल्याइएको थियो । अहिले सबै कुराहरू अलपत्र छ । संवैधानिक राजसंस्था र हिन्दु राज्य रहयो भने मात्र यो देश रहन्छ । नत्र सबै सकिन्छ ।

अन्त्यमा, यो एजेण्डामा सबैलाई एक हुन कसरी आह्वान गर्नुहुन्छ ?

म यहि अन्तर्वार्ता मार्फत् आवहान गर्न चाहान्छु । सबै संघसंस्थाहरूलाई र जनतालाई पनि हाम्रो दशको लागि एक हुन आग्रह गर्छु । परिवर्तनको विभाजन होइन एकताको अन्दोलनले हुन्छ भन्न चाहान्छु ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १३:०९   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।