रुसलाई युक्रेन आक्रमणको दौरान भ्याकुम बमका नामबाट पनि चिनिने थर्मोब्यारिक हतियार प्रयोग गर्ने योजना बनाइरहेको आरोप लगाइएको छ । समान आकारका अन्य परापरागत विस्फोटक पदार्थ भन्दा अत्यन्तै खतरनाक हुने तथा विस्फोट भएको स्थानको अर्धव्यासमा पर्ने जो कोहीमाथि पनि डरलाग्दो प्रभाव पार्ने भएकाले पनि यी बम निकै विवादास्पद छन् ।
एरोसल बम वा इन्धन वायु विस्फोटकका रूपमा पनि चिनिने यो भ्याकुम बममा दुईवटा छुट्टाछुटै चार्जसहित एउटा इन्धन कन्टेनर हुने गर्दछ । यसलाई रकेटकै रूपमा प्रहार गर्न वा विमानबाट बमको रूपमा खसाल्न पनि सकिन्छ । यसले लक्ष भेदन गर्दा पहिलो इन्धन चार्ज खुल्दछ र इन्धन मिश्रणलाई व्यापक रूपमा बादलजस्तै छर्दछ । पूर्णत: बन्द नगरिएका कुनै पनि भवनको प्वाल वा प्रतिरक्षा परिसरमा यो बादल छिर्न सक्छ ।
त्यसपछि दोस्रो चार्जले बादललाई पड्काउने गर्दछ । फलत ठूलो आगोको गोलासहित बृहत विस्फोट तरंग र भ्याकुम प्रकट हुन्छन् भने सो भ्याकुमले वरपरको अक्सिजन सोस्छ । यस बमले अभेद्य भवन तथा उपकरणहरू नष्ट गर्न र मानिसलाई घाइते बनाउन वा मार्न सक्छ ।
विभिन्न आकारमा आउने यी भ्याकुम बम विविध उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ । प्रत्येक सैनिकले यसलाई ग्रेनेडलाई जस्तै र हातैले बोकेर लग्न सकिने रकेट लन्चरबाट पनि प्रहार गर्न पनि सक्छन् ।
साथै गुफा तथा सुरुङ भित्रका कोठाहरूमा लुकेर बसेका शत्रुहरू मार्न पनि यसलाई माथि आकासबाट प्रहार गर्न सकिन्छ ।
सन् २००३ मा अमेरिकाले ‘मदर अफ अल बम्ज’ उपनामको ९ हजार ८ सय किलोग्राम वजनको भ्याकुम बम परीक्षण गरेको थियो । चार वर्षपछि रुसले ‘फादर अफ अल बम्ज’ नाम दिएर त्यस्तै खालको भ्याकुम बम तयार पारेको थियो । यसको शक्ति एउटा ४४ टन वजनको परम्परागत बमको जत्तिकैसम्म पनि हुन सक्छ । त्यसैले यो बम संसारकै सबैभन्दा ठूलो गैर परमाणविक विस्फोटक पदार्थ बन्न सफल भयो ।
भवन र बंकरहरूमा लुकेका शत्रुहरूमाथि विनाशकारी असर पार्न सक्ने भएकाले भ्याकुम बमलाई युद्धकालमा विशेषगरी सहरी क्षेत्रमा प्रयोग गर्ने गरिन्छ । अहिले युक्रेनको राजधानी किभ र पुर्वका अन्य मुख्य सहरहरू कब्जा गर्न प्रयास गरिरहेका रुसको सवालमा यस बम प्रयोगको सम्भावना धेरै छ ।
के युक्रेनमा यस्ता बम प्रयोग भइरहेका छन् त ?
अमेरिकाका लागि युक्रेनका राजदूत मार्कारोभाले रुसलाई अहिले भइरहेको आक्रमणमा भ्याकुम बम प्रयोग गरिरहेको आरोप लगाएकी छन् । तर यस दाबीको आधिकारिक पुष्टि भइसकेको छैन । साथै केहीदिन यतादेखि युक्रेनमा थर्मोबरिक रकेट लन्चरहरू देखिएको खबर पनि बाहिर आएको छ ।
भ्याकुम बमका युद्धका नियमहरू के हुन् ?
यी बम प्रयोग माथि प्रतिबन्ध लगाउने कुनै निश्चित अन्तर्राष्ट्रिय कानुन छैनन् । तर कसैले यसलाई सर्वसाधारण जनसंख्या भएका स्थान जस्तै विद्यालय वा अस्पतालमा प्रयोग गरेको खण्डमा भने सन् १८९९ र १९०७ को हेग सम्झौता अनुरूप युद्ध अपराधको अभियोग लगाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय अपराधिक अदालतका न्यायधीश करिम खानले आफ्नो अदालतले युक्रेनमा सम्भावित युद्ध अपराध माथि अनुसन्धान गर्ने बताएका छन् ।
पहिला भ्याकुम बमहरू कहाँ प्रयोग भए ?
भ्याकुम बमको इतिहास दोस्रो विश्व युद्धसम्मै जोडिएको छ । त्यतिबेला सुरुमा यस्ता बम जर्मनी फौजले प्रयोग गरेको थियो । साठीको दशक सम्म यो बम पूर्ण विकसित अवस्थामा पुगेको थिएन । त्यसपछि अमेरिकाले यसलाई भियतनाम युद्धमा प्रयोग गरेको थियो । अमेरिकाले यो बम अफगानिस्तान युद्धमा पनि प्रयोग गरेको थियो ।
अमेरिकाले पहिलोपटक सन् २००१ म टोरोवोरा पहाडका गुफाहरूमा लुकेर बसेका अलकायदाका फौजलाई तहसनहस पार्न यसलाई प्रयोग गरेको थियो । त्यसपछि अमेरिकाले पुन सन् २०१७ मा इस्लामिक स्टेटका फौज विरुद्ध यसको प्रयोग गर्यो ।रुसले सन् १९९९ मा चेच्न्या विरुद्धको युद्धमा यसलाई प्रयोग गर्दा मानव अधिकारवादी समूहले घोर भत्सर्ना गरेको थियो । रुसमा बनेका थर्मोब्यारिक हतियारहरू बसार अल–अस्सादको सरकारले सिरियाली गृह युद्धमा पनि प्रयोग गरेको बताइएको थियो ।





















प्रतिक्रिया