Logo

अनलाइनपाना खोज

प्रकाशकीय : पत्रकारिताको धर्मबाट हामी पछि हट्ने छैनौँ



अनलाइन पानाले आज ६ वर्ष पूरा गरेर ७ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामी चेन्ज नेपाल ग्रुप अफ कम्पनीको तर्फबाट हाम्रा सम्पूर्ण पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरू हाम्रा लागि धन्यवादको पात्र रहनुभएको छ ।

अनलाइनपानाले झन्डै ७ आँै वर्ष व्यावसायिक पत्रकारिताको जग बसाल्दा मुलुक राजनैतिक अस्थिरतामा नै थियो  । समाज खुलापनतर्फ लम्किँदै जाँदा हामी पनि त्यसको सहयात्री भई सूचना, समाचार, विश्लेषण र ज्ञान प्रवाह गर्ने माध्यम बन्न पुग्यौं  । हाम्रो त्यो सुरुवाती निष्ठा एवं प्रतिबद्धतामा कहिल्यै कमी आएको छैन, बेलाबखत आएका भ्रमलाई स्वीकार्दै  र त्यसलाई चिर्दै अगाडि बढ्न हामीलाई समयले अभ्यस्त बनाइसकेको छ ।

मुलुकमा संवैधानिक संक्रमणको अन्त्य र राजनीतिक स्थायित्वको आगमनसँगै पत्रकारिताको दायरा अरू फराकिलो हुने र यो राम्रोसँग फल्ने–फुल्ने–फस्टाउने हाम्रो बुझाइ थियो । तर, पछिल्ला परिदृश्य अलि फरक देखिएका छन् । यसबीच अनुदारवादी कानुन ल्याई संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई कस्ने कोसिस किन भइरहेको हो, त्यसको कारण हामीलाई थाहा छैन । तर यो प्रतिकूलताको प्रभाव समाजका अन्य क्षेत्रमा झैं पत्रकारितामा पनि परेको छ । त्यसबाट हामी केही अप्ठेरोमा छौं, तर निष्पक्ष पत्रकारिताप्रति हाम्रो निष्ठामा किञ्चित कमी आउने छैन र आएको पनि छैन ।

हाम्रो जन्म हुँदा मुलुक भुइँचालोबाट र नाकाबन्दीबाट भर्खर तङ्गिदै्र थियो । अहिले मुलुकको आर्थिक परिवेश खल्बलिँदा त्यसको असर समाजभरि परेको छ । यसबीचमा कोभिडको तेस्रो भेरियन्टसम्म आइपुग्दा हामीले स्पष्ट र सही समाचार नै सम्रेषण गरेको कुरा पाठकवृन्दलाई विदतै रहेको छ । विगत केही वर्षको अवधि साँच्चै नै असामान्य थियो । कोभिड सिर्जित कठिनाइ, समस्या र महासंकटको सामना गर्न सजिलो थिएन । तर तपाईंहरू सबैको शुभेच्छा एवम् सहयोग पाएर हामीले यसलाई धेरै हदसम्म चिरेका छौं । हाम्रा सामुन्नेका सबै संकट र समस्याहरू अझै पनि पूर्ण रूपले पार लागिसकेका छैनन्, पूर्ववत् सहज परिस्थितिमा फर्कन अरू केही समय लाग्न सक्छ । तर अब हामी राम्रैसँग अगाडि बढ्न सक्छौं भन्ने आत्मविश्वास यसबीचको सफलताले दिएको छ । हामी कोभिडपछिको परिदृश्यलाई ख्यालमा राख्दै अझ परिस्कृत, परिमार्जित एवम् नयाँ परिवेशको आवश्यकताअनुरूप चुस्त–दुरुस्त हुँदै छौं । हामीलाई पूर्ण विश्वास छ, यसमा तपाईंहरू सबैको विगतमा झैं रचनात्मक साथ–सहयोग रहनेछ ।

विगत वर्षमा हामीले आन्तरिक प्रणालीलाई चुस्त बनाउनुका थप पठनीय बनाउने प्रयास गरेका छौं । पाठकहरू नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन् । हामी निष्पक्ष पत्रकारिताको जगमा सदैव नै उभिने छौँ ।

प्रकाशक तथा प्रधान सम्पादक
नारायणप्रसाद अधिकारी

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १०:३२   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।