Logo

स्वास्थ्य

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि नि:शुल्क वितरण



पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसारको औषधि वितरण गरेको छ । 

उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिएको जानकारी दिए । 
अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरियो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो । 

आयुर्वेद संघको सहयोगप्रति महासंघ कास्कीका सचिव बरालले धन्यवाद प्रकट गरे । पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै संघले गरेको सहयोगको उनले प्रशंसा गरेका थिए । 
अभियान अन्तर्गत ११ वटै जिल्लाका संक्रमित भएका पत्रकारहरुलाई उक्त आयुर्वेद औषधि उपलब्ध गराइने जानकारी पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलाई गराइएको संयोजक राउतले बताए । 

अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेद औषधि वितरण गर्ने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । 

प्रदेशका अति विपन्न नागरिकहरुलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट प्राप्त सिफारिस÷जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि संक्रमितकै हातहातमा पु¥याइने अध्यक्ष पौडेलले बताए । 

साथै, संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गर्ने भएको छ । प्रदेश संघका सचिवसमेत रहेका डा. दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।