सिराहा । नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीले रक्सी चोरेको आरोपमा पक्राउ परेका हुन् । सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप लागेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो ।
लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माले जानकारी दिए ।
निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागु हुने गरी निलम्बन गरिएको डीएसपी शर्माले जानकारी दिएका हुन् ।
गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।




















प्रतिक्रिया